काठमाडौं । विश्व वातावरण दिवस आज नेपालमा पनि विविध कार्यक्रमकासाथ मनाइँदै छ । सरकारले यस बर्षको वातावरण दिवस मनाउन ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने राष्ट्रिय नारा तय गरेको छ ।
संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७३ देखि हरेक वर्ष जुन ५ तारिखमा वातावरण दिवस विश्वभर मनाउने गरिन्छ ।
वतावरण संरक्षण सम्वद्ध बिभिन्न सरकारी तथा गैह्रसरकारी संघ संस्थाहरुले वातावरण दिवसको अवसरमा विविध कार्यक्रमहरको आयोजना गरेकाछन् ।
यसैबीच विश्व वातावरण दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना सन्देश दिदै स्वच्छ वातावरणमा बाँच्न पाउने संवैधानिक हकलाई सार्थक बनाउन प्रण गर्नुपर्ने बताएका छन् ।
“आजको दिन हामी सबैले आफ्नो घर वरिपरि रहेको वातावरण सफा राख्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाई नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउने प्रण गर्नुपर्दछ । विकासलाई वातावरणमैत्री बनाउन आवश्यक छ,” विश्व वातावरण दिवसको अवसरमा राष्ट्रपति पौडेलले दिएको शुभकामना सन्देशमा भनिएको छ ।
प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ विश्व वातावरण दिवस मनाइरहँदा प्लास्टिक पोलिमरको अव्यवस्थित र अवैज्ञानिक प्रयोगले प्लास्टिकजन्य फोहोर वातावरणीय चुनौती बन्न पुगेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा भनेकाछन् “मानव जातिको महत्वकाङ्क्षा बढ्दै जाँदा भएको प्रकृतिको निर्मम दोहनले विश्वव्यापी जलवायु परिवर्तन, जैविक विविधताको ह्रास साथै बढ्दो प्रदूषणको चुनौती बनेको छ ।”
वायु, जल र भूमि प्रदूषणबाट परिरहेको असरलाई कम गर्न नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा राखेका विषयहरू र गरेका प्रतिबद्धताहरूलाई कार्यान्वयन गर्न आजको दिनले थप उत्साह प्रदान गर्ने विश्वास व्यक्त गर्दै राष्ट्रपति पौडेलले वातावरण संरक्षण तथा सुधारका लागि नेपालले अवलम्बन गरेको राष्ट्रियस्तरका वन, वातावरण तथा जलवायु परिवर्तन नीतिहरूबाट निर्देशित विभिन्न कार्यक्रमहरूले वन तथा वातावरणको क्षेत्रमा उपलब्धि हासिल भएको उल्लेख गरेका छन् ।