काठमाडौं । अन्तत: ब्रोकर कमिसन र नेपाल धितोपत्र बोर्ड शुल्क घट्ने भएको छ । अर्थमन्त्री बर्षमान पुनले ब्रोकर कमिसन र नेपाल धितोपत्र बोर्ड शुल्क घटाउने फाईल सदरका लागि प्रक्रिया अघि बढाएका छन् ।
ब्रोकर कमिसन र नेपाल धितोपत्र बोर्ड शुल्क दुवै घटाउने फाईल सदरका लागि अर्थमन्त्री पुनले बुधबार झिकाएका छन् । नेपाल धितोपत्र बोर्डले निर्णय गरेर स्वीकृतिका लागि ५ महिना अघिनै अर्थ मन्त्रालयमा पठाएको भएपनि धितोपत्र दलाल ( ब्रोकर)हरुको चलखेलका कारण यस फाईल यसै अड्काएर राखिएको थियो ।
निवर्तमान् अर्थमन्त्री डा. प्रकाशरण महतको कार्यकालमानै नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन र नेपाल धितोपत्र बोर्ड शुल्क दुवै घटाउन प्रश्ताव गरेको भएपनि ब्रोकरहरुको चलखेलकै कारण अर्थ मन्त्रालयका कर्मचारीहरुले मन्त्री समक्ष फाईल पेशनै नगरेर राखेका थिए । धितोपत्र बोर्डले गत कात्तिक १ गते ब्रोकर कमिसन र नेपाल धितोपत्र बोर्ड शुल्क दुवै घटाउने निर्णय गरेर स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाएको थियो ।
आफ्नो नियुक्तिसंगै शेयर बजारमा आवश्यक सुधार गर्ने प्रतिवद्धता गर्दैआएका अर्थमन्त्री पुनले उक्त फाईल तत्काल पेश गर्नका लागि ताकेता गरेपछि बुधबार उनको टेवलमा पुगेको पुनको सचिवालय श्रोतले बताएको छ । ब्रोकरहरुको चलखेलबाट अर्थमन्त्री पुन प्रभावित नभए एक दुई दिन भित्रमै ब्रोकर कमिसन र नेपाल धितोपत्र बोर्ड शुल्क दुवै घटाउने फाईल सदर हुने अनुमानन गरिएको छ ।
सो फाईल सदर भएमा हाल कायम स्ल्याबभित्र रहेर औसतमा करिब ०।१०५ ले ब्रोकर कसिमन घट्ने छ । अहिले लगानीकर्ताले ५० हजार रुपैयाँसम्मको कारोबारमा ०।४०५, ५० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०।३७५, ५ लाख रुपैयाँभन्दा माथि २० लाख रुपैयाँसम्मको कारोबारमा ०।३४५, २० लाख भन्दा माथि १ करोड रुपैयाँसम्मको कारोबारमा ०।३०५ र १ करोड भन्दामाथि जतिसुकै कारोबारमा ०।२७५ ब्रोकर कमिसन बुझाउनु पर्दछ । त्यस्तै सरकारी वा संस्थागत ऋणपत्रको खरिदबिक्रीमा पनि ५० हजार रुपैयाँसम्म ०।१०५, ५० लाख रुपैयाँसम्ममा ०।०५५ र ५० लाख माथिको कारोबारमा ०।०२५ सेवा शुल्क तिर्नुपर्ने व्यवस्था छ ।
शेयर बजारका लगानीकर्ताहरुले लामो समयदेखि ब्रोकर कसिमन घटाउने मागलाई जोडतोडले उठाउँदै आएका छन् । यस फाईल सदरसंगै लगानीकर्तामा उत्साह आउने अपेक्षा गरिएको छ ।