काठमाडौँ । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले हाल बंगलादेशमा भईरहेका हिंसात्मक घटनाको छानबिन गरी दोषीलाई सजाय दिन माग गरेकी छन् ।
बंगलादेशमा चर्किएको आन्दोलनपछि पदबाट राजीनामा दिएर हाल बिदेसिएकी पूर्व प्रधानमन्त्री हसिनाले समग्र घटनाक्रमबारे पहिलो पटक प्रतिक्रिया दिदै त्यस्तो माग गरेकी हुन् । उनको यस प्रतिक्रियालाई छोरा साजीव वाजिदले सामाजिक सञ्जाल मार्फत पोस्ट गरेका छन् ।
हसिनाले आफ्ना पिता एवं बंगलादेशका संस्थापक शेख मुजीबुर राहमानको प्रतिमा तोडफोडमा संलग्नमाथि कारबाहीको माग गर्दै उनले १५ अगस्टका दिन राष्ट्रिय शोक दिवस मनाउन पनि माग गरेकी छन् । १५ अगस्ट १९७५ मा हसिनाका पिता मुजीबुर रहमानसहित परिवारका अन्य सदस्यको हत्या गरिएको थियो । साथै उनले स्वतन्त्रता सेनानी, सैन्यकर्मी र उनीहरूका परिवारप्रति श्रद्धाञ्जली समेत अर्पणसमेत गरेकी छन् ।
बंगलादेशमा आन्दोलनको नाममा भएको तोडफोड, आगजनी र हिंसाका घटनामा हाम्रो देशका कयौँ निर्दोष नागरिकको मृत्यु भएको छ, पुलिस अधिकारी, पत्रकार, कार्यकर्ता, नेता, विद्यार्थी, शिक्षक र गर्भवती महिला समेत आतंकवादी हमलाको सिकार भएकोमा दुःख व्यक्त गर्दै उनले मृतात्माको शान्तिको कामना गरेकी छन् ।