काठमाडौं । भारतका दुई सुरक्षा अंगका प्रमुखहरुले नेपाल भ्रमण गर्ने भएका छन । भारतीय स्थल सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी र सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) प्रमुख अमृतमोहन प्रसाद नेपाल भ्रमणमा आउन लागेका हुन ।
नेपाली सेनाका अनुसार एसएसबी प्रमुख यही कात्तिक ३० गते र भारतीय स्थल सेनाध्यक्ष आगामी मंसिर ५ गते नेपाल आउन लागेका हुन् । नेपाली सेनाले भारतका दुई सुरक्षा अंगका प्रमुखहरुको आसन्न नेपाल भ्रमण गुडविल भिजिट भएको जनाएको छ ।
यद्यपी अमेरिकी सेनाका रथी फर्किलगत्तै हुन लागेको भारतका दुई सुरक्षा अंगका प्रमुखहरुको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपले हेरिएको छ । अमेरिकी सेनाको इन्डो प्यासिफिक कमान्डका उपकमान्डर लेफ्टिनेन्ट जनरल जोशुआ एम रुड नेपाल भ्रमण सकाएर मंगलबार मात्र स्वदेश फर्किएका हुन् ।