काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक भ्रमणका लागि सोमबार बिहान ११ बजे उत्तरी छिमेकी मुलुक चीन प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री ओलीका चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिमण्डलको नेतृत्व गर्दै चीनको राजधानी बेइजिङ प्रस्थान गरेका हुन् । नेपाली प्रतिमण्डल हिमालय एयरलाइन्सको विशेष विमान चार्टर गरेर चीन प्रस्थान गरेको छ । प्रधानमन्त्रीको भ्रमण टोलीमा सरकारीतर्फका ४६ र निजी क्षेत्रका ३२ गरी ७८ सदस्य सहभागी छन् ।
प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा भोली मंसिर १८ गते चिनियाँ समकक्षी छ्याङ संग दुईपक्षीय वार्ता र केही समहति पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । त्यस लगत्तै प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि जिनफङसंग भेट गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओलीले मंसिर १९ गते पेकिङ विश्वविद्यालयमा मुख्य सम्बोधन र बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने बताईएको छ ।