शुक्रबार, फाल्गुन २२, २०८२
Friday, March 6, 2026

भारतको रेभा युनिभर्सिटीका पूर्वविद्यार्थीहरूको सम्मेलन काठमाडौँमा सम्पन्न

भारतको रेभा युनिभर्सिटीका पूर्वविद्यार्थीहरूको सम्मेलन काठमाडौँमा सम्पन्न

​काठमाडौँ । भारतको बेङ्गलोरस्थित प्रतिष्ठित रेभा युनिभर्सिटीमा अध्ययन गरेका नेपाली पूर्वविद्यार्थीहरूको सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ । ‘ग्रान्ड एलुम्नाइ मिट–नेपाल च्याप्टर २०२६’ शीर्षकमा आयोजित उक्त कार्यक्रममा विश्वविद्यालयका अध्यक्ष तथा कुलपति डा. पी. श्यामा राजुको प्रमुख आतिथ्यता रहेको थियो भने रजिस्ट्रार डा. एम. धनञ्जय विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।

​नेपालमा रहेका रेभा युनिभर्सिटीका पूर्वविद्यार्थीहरूलाई एकै मञ्चमा जोड्दै आपसी सम्बन्ध सुदृढ गर्नु, अनुभव र ज्ञानको आदानप्रदान गर्नु तथा शैक्षिक, व्यावसायिक र सामाजिक सहकार्य विस्तार गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको कार्यक्रम संयोजक राजेश बस्यालले जानकारी दिनुभयो । उहाँका अनुसार एलुम्नाइ नेटवर्कलाई संस्थागत रूपमा मजबुत बनाउँदै दीर्घकालीन सहकार्यको आधार तयार गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो ।

​कार्यक्रममा वक्ताहरूले रेभा युनिभर्सिटीबाट अध्ययन पूरा गरेका नेपाली विद्यार्थीहरू हाल नेपालका सरकारी, निजी तथा अन्तर्राष्ट्रिय संस्थामा महत्त्वपूर्ण जिम्मेवारीमा कार्यरत रहेको उल्लेख गरे ।

एलुम्नाइहरूको सक्रिय सहभागिताले शिक्षा, व्यवसाय र समाजका विभिन्न क्षेत्रमा सकारात्मक योगदान पुर्‍याइरहेको उनीहरूको भनाइ थियो ।

​सम्मेलनलाई सम्बोधन गर्दै कुलपति डा. पी. श्यामा राजुले रेभा युनिभर्सिटीको प्राथमिकता गुणस्तरीय शिक्षा र व्यावसायिक दक्षता विकासमा केन्द्रित रहेको बताउनुभयो । आफ्ना पूर्वविद्यार्थीहरूलाई नेपालमै भेट्न पाउँदा खुसी लागेको उल्लेख गर्दै उहाँले विश्वविद्यालय र विद्यार्थीबिचको सम्बन्ध सधैँ आत्मीय र बलियो रहेको धारणा व्यक्त गर्नुभयो ।

​त्यस्तै, रजिस्ट्रार डा. एम. धनञ्जयले रेभा युनिभर्सिटीमा अध्ययन गरी नेपाल फर्किएका विद्यार्थीहरूले विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै उल्लेखनीय काम गरिरहेको देख्दा गर्व महसुस भएको बताउनुभयो । उहाँले एलुम्नाइहरू विश्वविद्यालयका वास्तविक पहिचान र प्रतिनिधि भएको उल्लेख गर्नुभयो ।

​वक्ताहरूले यस्ता सम्मेलनहरूले नेपाल–भारतबिचको शैक्षिक सहकार्यलाई थप मजबुत बनाउनुका साथै दुई देशबिचको सम्बन्ध सुदृढ गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

​कार्यक्रममा रेभा युनिभर्सिटीका पूर्व तथा वर्तमान विद्यार्थी, नेपालका प्रतिष्ठित शिक्षासेवी र विभिन्न क्षेत्रका बौद्धिक व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो । सम्मेलनले आगामी दिनमा नेपाल च्याप्टरमार्फत नियमित कार्यक्रम, नेटवर्किङ र सहकार्यका गतिविधि सञ्चालन गर्ने आधार तयार गरेको आयोजकहरूले बताएका छन् ।

विश्व