काठमाडौँ। राष्ट्रिय सभाकी नवनिर्वाचित सांसद रामकुमारी झाँक्रीको पछिल्लो अभिव्यक्तिले यतिबेला प्रवासी नेपाली समुदायमा गम्भीर असन्तोष पैदा गरेको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानाडाले औपचारिक विज्ञप्ति जारी गर्दै झाँक्रीको टिप्पणीलाई “अपमानजनक, असंवेदनशील र विभाजनकारी” ठहर गरेको छ।
संघका अनुसार, रेमिट्यान्स, सीप, ज्ञान र लगानीमार्फत नेपालको अर्थतन्त्रमा दीर्घकालीन योगदान पुर्याउँदै आएको डायस्पोरा समुदायलाई एकै झट्कामा अवमूल्यन गर्ने प्रयास राजनीतिक रूपमा गैरजिम्मेवार मात्र होइन, तथ्यहीन पनि हो।
नेपालको अर्थतन्त्रको एक प्रमुख आधारस्तम्भ रेमिट्यान्स हो। राज्य संरचना कमजोर हुँदा, राजनीतिक अस्थिरता बढ्दा र रोजगारीका अवसर सीमित हुँदा लाखौँ नेपाली विदेशिन बाध्य भएका हुन्। यस्तो यथार्थलाई बेवास्ता गर्दै प्रवासीहरूलाई नै दोषारोपण गर्नु समस्या समाधान होइन, जिम्मेवारीबाट पन्छिने प्रवृत्ति भएको एनआरएनए क्यानाडाको ठहर छ।
संघले विशेषगरी झाँक्रीले विदेशमा रहेका नेपालीको मताधिकार र “एकपटकको नेपाली सधैँको नेपाली” भन्ने नागरिकतासम्बन्धी मागप्रति देखाएको नकारात्मक धारणा लोकतान्त्रिक मूल्य र समावेशी राज्यको अवधारणासँग मेल नखाने दाबी गरेको छ। प्रश्न उठाइएको छ— देशको अर्थतन्त्र धान्ने, संकटमा सहयोग गर्ने र राष्ट्रिय पहिचानलाई विश्वभर विस्तार गर्ने समुदायलाई राजनीतिक अधिकारबाट टाढा राख्नु कति न्यायोचित हो?
विज्ञप्तिमा पूर्वमन्त्रीसमेत रहेकी झाँक्रीबाट पटक–पटक यस्तै अभिव्यक्ति दोहोरिनु चिन्ताजनक रहेको उल्लेख छ। जनप्रतिनिधिको हैसियतले अभिव्यक्ति स्वतन्त्रता प्रयोग गर्दा संवेदनशीलता, सन्तुलन र तथ्यप्रतिको उत्तरदायित्व अनिवार्य हुने संघले स्मरण गराएको छ।
एनआरएनए क्यानाडाले स्पष्ट सन्देश दिएको छ— प्रवासी नेपाली समुदायको गरिमा, आत्मसम्मान र नागरिक अधिकारको सवालमा कुनै सम्झौता हुने छैन। विभाजनकारी भाष्यको प्रतिवाद गर्दै संवाद र तथ्यमा आधारित बहस आवश्यक रहेको संघको जोड छ।
यस प्रकरणले एउटा गम्भीर प्रश्न फेरि उठाएको छ: प्रवासी नेपालीहरू राष्ट्रका साझेदार हुन् कि केवल आर्थिक स्रोत? राजनीतिक नेतृत्वले अब स्पष्ट उत्तर दिनुपर्ने बेला आएको छ।