काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी निर्वाचनका लागि सार्वजनिक गरेको नागरिक करारपत्रमा प्रवासी नेपालीका मुद्दा समेटिएकोप्रति प्रवासी नेतृत्वले स्वागत गरेका छन्। तर ती प्रतिबद्धता व्यवहारमा लागू गर्न स्पष्ट योजना, समयसीमा र कानुनी आधार आवश्यक रहेको बताइएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् क्यानाडाका वरिष्ठ उपाध्यक्ष सन्तोष दाहालले आइतबार विज्ञप्ति जारी गर्दै प्रवासी नेपालीका मुद्दा औपचारिक रूपमा करारपत्रमा समावेश हुनु सकारात्मक संकेत भएको बताएका हुन्।
उनका अनुसार करारपत्रमा प्रवासी नेपालीका लागि अनलाइन मतदानको व्यवस्था, वंशजको आधारमा नागरिकताको निरन्तरता, प्रवासी कोषको स्थापना, सुरक्षित लगानीको वातावरण, सम्मानपूर्वक स्वदेश फर्किने अवसर तथा व्यवस्थित वैदेशिक रोजगारी जस्ता विषय समेटिनु सकारात्मक कदम हो।
अमेरिकास्थित नेपालीहरूको संघ (एएनए) का उपाध्यक्ष तथा एएनए नेपाली अन्तर्राष्ट्रिय सम्मेलन २०२५ का मानार्थ संरक्षकसमेत रहेका दाहालले प्रवासी समुदायले लामो समयदेखि उठाउँदै आएका मागलाई औपचारिक रूपमा स्वीकार गर्नु महत्वपूर्ण भएको बताएका छन्। उनले विज्ञप्तिमा भनेका छन्, “प्रवासी नेपालीका मुद्दा करारपत्रमा समेटिनु स्वागतयोग्य छ। यसका लागि सम्बन्धित पार्टीलाई धन्यवाद दिन चाहन्छु।”
पुराना माग, अधुरो कार्यान्वयन
सन् २००३ मा एनआरएनए स्थापना भएदेखि नै विश्वभरका नेपालीहरूले अनलाइन मतदानको अधिकार, दोहोरो वा वंशजको नागरिकता, लगानीको सुरक्षा र स्वदेश फर्किने सहज वातावरण जस्ता माग उठाउँदै आएको दाहालले स्मरण गराए। उनले थपे, “विगतमा विभिन्न दलहरूले यस्ता प्रतिबद्धता जनाए पनि ती कानुन र नीतिमा पूर्ण रूपमा समेटिन सकेनन्। त्यसैले यसपटक स्पष्ट कार्ययोजना आवश्यक छ।”
स्पष्ट योजना र समयसीमाको माग
विगतमा सरकारमा रहँदा यी एजेन्डामा के काम भयो? किन ती समयमै कानुनी रूपमा आउन सकेनन्? र अहिलेका प्रतिबद्धता कहिले र कसरी लागू हुन्छन्? भन्ने प्रश्न गर्दै दाहालले भनेका छन्, “घोषणापत्रमा उल्लेख गर्नु मात्र पर्याप्त हुँदैन, कार्यान्वयनको स्पष्ट र विश्वसनीय योजना सार्वजनिक गर्नुपर्छ। अब भावनात्मक कुरा होइन, व्यावहारिक कदम चाहिन्छ।” साथै उनले प्रवासी नेपालीलाई अब केवल आश्वासन मात्र नभई ठोस नतिजा चाहिएको समेत बताए।
विश्वभर रहेका नेपालीसँग पुँजी, सीप, ज्ञान र अनुभव भए तापनि सुरक्षित र विश्वसनीय कानुनी व्यवस्था नहुँदा ती स्रोतहरू नेपालमा प्रभावकारी रूपमा भित्रिन नसकेको दाहालको तर्क छ। पारदर्शी प्रणाली बनेमा प्रवासी पुँजीले देशको आर्थिक विकासमा ठूलो योगदान दिन सक्ने उनले उल्लेख गरे।
दलभन्दा नीति महत्वपूर्ण
दाहालले प्रवासी समुदाय कुनै एक दलको पक्षमा नभई राम्रो नीति र प्रभावकारी कार्यान्वयनको पक्षमा रहेको स्पष्ट पारेका छन्। जो कोही सरकार वा राजनीतिक शक्ति प्रवासी मुद्दामा स्पष्ट योजना र परिणामसहित अघि बढ्छ, प्रवासी समुदाय उनीहरूसँग सहकार्य गर्न तयार रहने उनले बताए।
आगामी निर्वाचनका लागि सबै राजनीतिक दललाई शुभकामना दिँदै दाहालले यसपटकका प्रतिबद्धताहरू व्यवहारमा लागू भई समृद्ध नेपाल निर्माणतर्फ ठोस कदम चालिने आशा व्यक्त गरे। प्रवासी समुदाय अब शब्दमा भन्दा परिणाममा विश्वास गर्न चाहेको उनको भनाइ छ।
