गुल्मी । गुल्मी जिल्लामा केही समयअघिसम्म चर्चामा रहेको “नयाँ अनुहार” र “परिवर्तन”को नाराको क्रम अहिले फेरिँदै गएको छ। जिल्लाका बजार, चिया पसल र गाउँका भेलाहरूमा हुने छलफलहरू अहिले फरक दिशातर्फ मोडिएका देखिन्छन्। मतदाताले अब भावनात्मक नाराभन्दा व्यवहारिक प्रश्न उठाउन थालेका छन्— “राजनीतिक अनुभव नभएको व्यक्ति संसद् पुगेर जटिल संसदीय प्रक्रियामा कसरी सहभागी हुन्छ?”
अनुभवको महत्व र संसद्को भूमिका
संसद् केवल भाषण गर्ने थलो मात्र नभई कानुन निर्माण, संशोधन, बजेट तर्जुमा र सरकारको कामको अनुगमन गर्ने मुख्य निकाय हो। यी कामका लागि राजनीतिक अनुभव र स्पष्ट बुझाइ आवश्यक पर्ने तर्क मतदाताको छ। यही कारण गुल्मीका मतदाताबीच अहिले चर्चा सुरु भएको छ— “लहरले चर्चा त ल्याउन सक्छ, तर नीति निर्माणमा परिपक्वता चाहिन्छ।”
विकास र प्रभावकारी समन्वय
गुल्मीमा सडक, स्वास्थ्य, शिक्षा, खानेपानी र रोजगारीका समस्याहरू अझै सम्बोधन हुन बाँकी छन्। यस्ता स्थानीय समस्यालाई संघीय सरकारसँग समन्वय गरेर समाधान गर्न सक्ने प्रतिनिधि अहिलेको आवश्यकता बनेको छ। मतदाताहरू अब “व्यक्ति” भन्दा पनि “सरकारसँग काम गर्न सक्ने र केन्द्रमा प्रभाव राख्न सक्ने नेतृत्व” को खोजीमा देखिन्छन्।
काङ्ग्रेस र एमालेबीचको रस्साकस्सी
यसै सन्दर्भमा जिल्लामा नेपाली कांग्रेसको सक्रियता र भरोसा बढेको दाबी गरिएको छ। क्षेत्र नम्बर १ मा चन्द्र भण्डारीको संसदीय अनुभव र क्षेत्र नम्बर २ मा भुवनप्रसाद श्रेष्ठको संगठनात्मक पकडले कांग्रेसलाई बलियो बनाएको विश्लेषण भइरहेको छ। अर्कोतर्फ, नेकपा एमालेका उम्मेदवारहरू पनि बलिया प्रतिष्पर्धीका रूपमा मैदानमा छन्, तर सरकार गठनमा कुन दलको समीकरण कस्तो रहला भन्ने चासोले मतदातालाई निर्णय लिन सोच्न बाध्य बनाएको छ।
नतिजामुखी सोचतर्फ मतदाता
गुल्मीमा अहिले देखिएको प्रवृत्ति भावनात्मक लहरबाट नतिजामुखी सोचतर्फको परिवर्तन हो। “नयाँ” हुनु मात्र पर्याप्त होइन, त्यससँगै स्पष्ट योजना र कार्यान्वयनको क्षमता पनि चाहिन्छ भन्ने धारणा बलियो बन्दै गएको छ। समग्रमा, मतदाताहरू यसपटक लहरभन्दा पनि कार्यक्षमता र केन्द्रमा पहुँच पुर्याउन सक्ने नेतृत्व रोज्ने मनस्थितिमा देखिन्छन्।