शुक्रबार, फाल्गुन २२, २०८२
Friday, March 6, 2026

राष्ट्रिय समस्या समाधानपछि मात्र निर्वाचन उपयुक्त:पूर्वराजा ज्ञानेन्द्र शाह

राष्ट्रिय समस्या समाधानपछि मात्र निर्वाचन उपयुक्त:पूर्वराजा ज्ञानेन्द्र शाह

​काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा विद्यमान गम्भीर राष्ट्रिय समस्याहरू समाधान नगरी निर्वाचनमा जानु उपयुक्त नहुने बताएका छन्। ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बुधबार जारी गरिएको एक भिडियो सन्देशमार्फत उनले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

​प्रतिनिधिसभा निर्वाचन हुन करिब तीन हप्ता मात्र बाँकी रहेका बेला आएको उनको यस सन्देशलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

​‘अहिलेको अवस्था सामान्य छैन’

​पूर्वराजा शाहले प्रजातान्त्रिक व्यवस्थामा आवधिक निर्वाचन स्वाभाविक प्रक्रिया भए पनि वर्तमान परिस्थिति सामान्य नभएको उल्लेख गरेका छन्। उनका अनुसार, पहिले राष्ट्रिय समस्या समाधान गरेर मात्र निर्वाचनतर्फ अघि बढ्नुपर्ने अहिलेको आम जनभावना रहेको छ।

​यद्यपि, उनले “राष्ट्रिय समस्या” अन्तर्गत कुन-कुन विषय समाधान हुनुपर्छ भन्नेबारे स्पष्ट पारेका छैनन्। संवैधानिक राजतन्त्रको पक्षमा वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलहरू निर्वाचनमा सहभागी भइरहेका बेला उनको यो अभिव्यक्तिलाई थप चासोका साथ हेरिएको छ।

​समझदारी र सहकार्यमा जोड

​पूर्वराजा शाहले निर्वाचनपछि अनावश्यक विवाद र खिचातानी नहोस् भन्नका लागि राजनीतिक दलहरूबीच समझदारी आवश्यक रहेको बताएका छन्। उनले सन्देशमा भनेका छन्, “पहिले देशका गम्भीर समस्या समाधान गरौँ, त्यसपछि मात्र निर्वाचन गरौँ भन्ने जनताको चाहना देखिन्छ।”

​उनले अधिकार मात्र खोज्ने तर कर्तव्यप्रति ध्यान नदिने प्रवृत्ति बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्। भागबण्डाको सोचभन्दा सहकार्य र एकताको भावनाले मात्र देशलाई सही दिशामा अघि बढाउन सकिने उनको भनाइ छ।

​आत्मसमीक्षाको आवश्यकता

​देश हाल अन्योल र अस्थिरताको अवस्थामा रहेको उल्लेख गर्दै पूर्वराजाले आम नागरिकले देशको अस्तित्व नै संकटमा परेको अनुभूति गरिरहेको बताएका छन्। जनता सचेत र जिम्मेवार नभएसम्म प्रजातन्त्र बलियो नहुने उनको धारणा छ।

​साथै, विगतका आन्दोलन र राजनीतिक परिवर्तनले नेपाल र नेपालीलाई के उपलब्धि दियो भन्ने विषयमा आत्मसमीक्षा गर्नुपर्ने समय आएको उनले बताएका छन्। यस क्रममा उनले २०६२/६३ को आन्दोलन र त्यसपछिको राजसंस्था अन्त्य गरी गणतन्त्र स्थापना गरिएको सन्दर्भतर्फ संकेत गरेका छन्।

यस्तो छ पूर्व राजा ज्ञानेन्द्र शाहको सन्देश:

नेपाली दिदीबहिनी तथा दाजुभाइहरू,
​जनता र राजाको संयुक्त प्रयत्नबाट ७५ वर्षअघि नेपालमा प्रजातन्त्रको मिरमिरे घाम उदाएको सुखद दिवसको सम्झना गर्दै हामी सबै नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ। प्रजातन्त्र स्थापनाका निम्ति उदारता दर्साईबक्सिने हाम्रा जिजुबुवा राष्ट्रपिता श्री ५ त्रिभुवनको स्मरण गर्दै मौसुफप्रति श्रद्धासुमन अर्पण गर्दछौँ। प्रजातन्त्रका निम्ति जीवनदान दिने ज्ञात–अज्ञात सहिदहरू र प्रजातन्त्रका लागि क्रियाशील रहने सबै पात्रहरूप्रति पनि हामी श्रद्धाभाव व्यक्त गर्दछौँ।

​केही महिनाको झापा बसाइपश्चात् राजधानी फर्किने क्रममा हाम्रो स्वागतमा सामेल हुनुहुने उपत्यकाका आदिवासी नागरिक एवं आम जनसमुदायमा हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्दछौँ। मुलुक असामान्य अवस्थाबाट गुज्रिरहेको वर्तमान समयमा हामीप्रति दर्साइएको यस्तो प्रेम र सद्भावले हाम्रो मन र मुटु मात्र छोएको नभई हाम्रा निम्ति एउटा अटल दायित्वबोधको प्रेरणा पनि मिलेको छ।

​सिङ्गो मुलुक यतिबेला अस्वाभाविक छटपटीको भुमरीमा फसेको छ। देशको अस्मिता र अस्तित्व नै सङ्कटमा परेको महसुस हरेक देशभक्त नेपालीले गरिरहेका छन्। विगतमा अनेकौँ नाममा आन्दोलन र सङ्घर्ष भए, सङ्घर्षको आडमा परिवर्तन पनि गरिए; तर ती सबै प्रकारका परिवर्तनले नेपाल र नेपालीलाई के दियो भन्ने आत्मसमीक्षा गर्नुपर्ने समय अहिले आएको छ।

​हाम्रो शत्रु विपन्नता र अस्थिरता हो, तर एउटा नेपालीले अर्को नेपालीलाई वैरी ठान्ने अवाञ्छित संस्कृतिलाई हामीले बढावा दियौँ, जसका कारण देश आज इतिहासकै सबैभन्दा गहिरो र दर्दनाक स्थितिमा आइपुगेको छ। त्यसैले कठिन परिस्थितिमा परेको आजको मुलुकमा परस्पर घृणा र द्वन्द्वको राजनीतिमा पूर्णविराम लगाउँदै सद्भाव र एकताको राजनीतिक संस्कृतिको प्रबोधन गरौँ।

​प्रजातन्त्रमा राज्य व्यवस्था र प्रक्रिया संवैधानिक मान्यताअनुरूप चल्नु उपयुक्त हो। प्रजातान्त्रिक प्रणालीमा प्रतिनिधि छनोटको आवधिक निर्वाचन एक स्वाभाविक प्रक्रिया भए तापनि यतिखेरको आम जनभावना यो छ कि—मुलुकमा पहिले राष्ट्रिय समस्याको समाधान गरेर मात्र निर्वाचन प्रक्रियातर्फ जानु उचित हुन्छ। निर्वाचनपछि कुनै द्वन्द्व, अशान्ति र खिचातानी नहोस् भन्ने विषयलाई ध्यानमा राखेर राष्ट्रिय सहमति र सबैलाई समेटेर लाने समझदारी बनाएर मात्र निर्वाचनमा जाँदा नै त्यसले सही बाटो समात्नेछ।

​वर्तमान अवस्थामा अधिकार मात्र खोज्ने तर कर्तव्य नसोच्ने प्रवृत्ति मौलाइरहेको छ। यस्तो दुःखद परिस्थितिमा ‘आलोपालो भाग लगाएर खाऊँ’ भन्ने सोचले होइन, ‘मिलेर काम गरौँ’ भन्ने कर्तव्यबोधले मात्र मुलुकलाई नयाँ गति दिन सकिन्छ। प्रजातन्त्रमा जनता आफैँ जागरूक बनेर समाज र राष्ट्रसेवाको सत्कर्ममा अग्रसर हुन पाउनुपर्ने हो, तर कसैलाई खुसी पार्नुपर्ने अनि कसैबाट तोकिनुपर्ने बाध्यात्मक व्यवस्थाको जञ्जिरमा बाँधिनुपरेको छ।

​देशको भू–बनोट तथा समाजको प्रकृति सुहाउँदो व्यवस्था र प्रणालीले मात्र दिगो र सकारात्मक परिणाम दिन सक्छ। आम जनताको समग्र हित हुने तथा विश्वसामु नेपालीको शिर उच्च हुने प्रजातान्त्रिक व्यवस्था नै नेपाललाई सुहाउँछ। कुनै पनि व्यवस्थाका राम्रा र असल पक्षहरूलाई अङ्गीकार गर्नुपर्छ भने नराम्रा र खराब पक्षहरूलाई त्याग्नुपर्छ।

​त्यसैले विश्वका कैयौँ राष्ट्रहरू ‘पहिले आफ्नो देश, पहिला आफ्ना जनता र पहिला आफ्नो आवश्यकता’ भन्दै त्यही प्राथमिकतामा प्रजातन्त्रको जग बसाइरहेका छन्। हो, हामीले पनि हाम्रो धरातलीय यथार्थमा उभिएर प्रजातन्त्रको प्रयोग, परीक्षण र प्रशोधन गर्दै जानुपर्दछ। नेपालको एकीकरण, प्रजातान्त्रिकीकरण र आधुनिकीकरणसँगै जनताको बदलिँदो चाहना र आवश्यकतालाई ध्यानमा राखेर समयानुकूल परिवर्तन र परिमार्जन गर्दै आम जनताको दैनिक कामकाज सहज र सरल बनाउँदै लैजानु आजको पहिलो आवश्यकता हो।

​प्रजातन्त्रमा सबै प्रकारका विचार र संस्कारको आदर हुनुपर्दछ। सबैले सबैलाई कदर गर्ने समन्वयकारी गुणबाट नै सामाजिक मूल्यको प्रजातन्त्र दिगो र दरिलो हुन्छ। अरूको भरमा परेर हामी अक्करमा नपरौँ।

​श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून्।
जय नेपाल।

विश्व