काठमाडौँ । विद्यालय जान लागेका साना बाबुनानीको सेतो पोसाक सडकको लेदो हिलोले रङ्गिँदा ती अभिभावकको मन कति रुन्छ होला र कति आक्रोश बढ्छ होला? कार्यालय जान वा कुनै गन्तव्यमा पुग्न हतारिएका यात्रीको सवारीसाधन खाल्डोमा पछारिएर हातखुट्टा छिलिँदा उनले देशको व्यवस्थालाई कति सराप्छन् होला? सडकमा उड्ने धुलो र बर्खाको हिलोले लुगा मात्र होइन, विकास निर्माणमा भएको ढिलाइ र मौलाएको भ्रष्टाचारले आम नेपालीको स्वाभिमान समेत भिजाइरहेको छ।
यही नागरिक आक्रोशलाई पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं भावी प्रधानमन्त्रीका दाबेदार बालेन्द्र (बालेन) शाहले सडकबाटै स्वर दिइरहनुभएको छ। उहाँको स्पष्ट अडान छ— “ठेकेदारलाई घोक्रेठ्याक लगाएरै भए पनि विकास गर्नुपर्छ।” तर, के भौतिक कारबाहीकै भरमा हाम्रा नानीहरूले सफा सडकमा हिँड्न पाउँछन् त? नेपाली कांग्रेसका सभापति एवं सो पार्टीका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सारिएका गगन थापाले यही गम्भीर र अलि ‘अनपपुलर’ (अलोकप्रिय) लाग्ने प्रश्न उठाउनुभएको छ।
आक्रोशको राजनीति भर्सेस पद्धतिको सुधार
बालेन शाहको ‘एक्सनमुखी’ शैलीले जनताको तात्कालिक पीडालाई मलम त लगाउँछ, तर गगन थापा यसलाई ‘अव्यावहारिक’ र ‘कानुनी राज्यको मान्यता विपरीत’ मान्नुहुन्छ। एउटा आम नागरिकलाई सडकमा ठेकेदारलाई कारबाही गरेको देख्दा क्षणिक आनन्द त आउँछ, तर थापाको तर्क छ— “जतिसुकै चटक गरे पनि जबसम्म ४१ वटा बाधक कानुन सुधार्न सकिँदैन, तबसम्म अवस्था उस्तै रहन्छ।”
एउटा सडक बनाउन २७ वटा सरकारी कार्यालय धाउनुपर्ने प्रशासनिक जालो नै ढिलासुस्तीको असली जड भएको उहाँको दाबी छ। जहाँ एउटा इमानदार निर्माण व्यवसायी पनि फाइल बोकेर महिनौँ भौँतारिनुपर्ने बाध्यता छ, त्यहाँ केवल ‘चाबुक’ चलाएर नतिजा नआउने थापाको विश्लेषण छ।
लगानीकर्ताको भरोसा र कानुनी राज्यको चुनौती
कुनै पनि देश तब मात्र बन्छ, जब त्यहाँ लगानी गर्नेहरूले कानुनी सुरक्षा महसुस गर्छन्। रास्वपा र बालेन शाहले अपनाएको ‘भौतिक कारबाही’को शैलीले निर्माण क्षेत्रमा डर त पैदा गर्छ, तर यसले दीर्घकालीन र ठूला लगानीकर्तालाई भने तर्साउन सक्छ। यसै विषयलाई जोड्दै गगन थापा भन्नुहुन्छ— “समाधान भौतिक आक्रमणमा होइन, सिस्टमको सर्जरीमा छ।”
कांग्रेसजस्तो संस्थागत अनुभव भएको दलले मात्र सहज रूपमा नयाँ कानुन बनाउन र अन्तर्राष्ट्रिय लगानीकर्ताको विश्वास जित्न सक्छ भन्ने थापाको बुझाइ छ। उहाँको चिन्ता छ— “म मात्रै असल, बाँकी सबै बदमास” भन्ने सोचले देशलाई विकासतिर होइन, अराजकता र कानुनी शून्यतातिर धकेल्न सक्छ।
अबको बाटो: डर कि विश्वास?
गगन थापा र बालेन शाहका यी दुई धारबीच जनताको प्रश्न भने अझै मर्मस्पर्शी छ— “तपाईं त मुलुकको सबैभन्दा पुरानो र ठूलो दलको नेतृत्वमा हुनुहुन्छ, हामीले कतिन्जेल खाल्डोमा परेर खुट्टा भाँचिरहने? ती ४१ वटा कानुन बदल्न तपाईंलाई कसले रोक्यो?”
अब समय केवल सिद्धान्त र भाषणको मात्र होइन, ठोस परिणामको हो। यदि गगन थापाले भनेझैँ नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि सार्वजनिक खरिद ऐन बदलियो र ‘सस्तो’ होइन, ‘गुणस्तरीय र चाँडो’ काम गर्नेले ठेक्का पाउने दिन आयो भने मात्र बालेनको ‘घोक्रेठ्याक’ शैलीको सान्दर्भिकता सकिनेछ। नत्र, सडकमा ठेकेदार घिसारिइरहनेछन्, नेताहरू सिद्धान्तमा बाझिरहनेछन् र आम नागरिक चाहिँ त्यही हिलो र धुलोमा आफ्नो भविष्य खोजिरहनेछन्।