बिहिबार, फाल्गुन २१, २०८२
Thursday, March 5, 2026

निर्वाचन प्रचारमा भौतिक स्वरूपका चिह्न प्रयोग नगर्न आयोगको आग्रह

निर्वाचन प्रचारमा भौतिक स्वरूपका चिह्न प्रयोग नगर्न आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार गर्दा भौतिक स्वरूपका निर्वाचन चिह्न प्रयोग नगर्न राजनीतिक दल तथा उम्मेदवारहरूलाई अनुरोध गरेको छ। आयोगले आइतबार विज्ञप्ति जारी गर्दै राजनीतिक दल वा उम्मेदवारसँग यस्तो आग्रह गरेको हो।

पछिल्लो समयमा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो निर्वाचन चिह्न ‘घण्टी’ लिएर बजाउँदै मतदाताको घरदैलो र चोकचोकमा पुग्न थालेको विषयलाई इङ्गित गर्दै निर्वाचन आयोगले यो आग्रह गरेको हो। यद्यपि, विज्ञप्तिमा कसैको पनि नाम उल्लेख गरिएको छैन। आयोगले कपडा, तुल, फ्लेक्स वा कागजमा छापी वा प्रिन्ट गरी आफ्नो निर्वाचन चिह्न भने प्रयोग गर्न सक्ने जनाएको छ।

आयोगले तोकेको मापदण्ड विपरीत कुनै धातु, काठ वा अन्य त्यस्तै प्रकृतिका सामग्रीबाट बनेको भौतिक स्वरूपका निर्वाचन चिह्न लिएर निर्वाचन प्रचारप्रसार गर्दा सुरक्षा जोखिम बढ्ने आयोगको भनाइ छ। चुनावमा भाग लिने राजनीतिक दल वा उम्मेदवारले यस्ता किसिमका भौतिक स्वरूपका निर्वाचन चिह्न प्रयोग गरी निर्वाचन प्रचारप्रसार गर्दा आम जनमानसमा सुरक्षामा असर पर्ने आयोगको बुझाइ छ।

साथै, निर्वाचन आचारसंहितामा तोकिए बमोजिमको मापदण्ड अनुसार दलको झण्डा र चुनाव चिह्नको माध्यमबाट मात्र निर्वाचन प्रचारप्रसार गर्न र गराउन आयोगले अनुरोध गरेको छ।

विश्व