शुक्रबार, फाल्गुन ९, २०८१
Friday, February 21, 2025
add-top

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच आइतबार ओमनको राजधानी मस्कटमा द्विपक्षीय भेटवार्ता भएको छ । आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहनुभएका उहाँहरुबीच आज साँझ भेट भएको हो ।

सो भेटका क्रममा उहाँहरुबीच नेपाल भारत द्विपक्षीय सम्बन्ध, आपसी हित, साझा चासो र पारस्पारिक लाभका विविध विषयमा कुराकानी भएको थियो । त्यस भेटकाक्रममा पछिल्लो समय दुई देशबीचका द्विपक्षीय भेटवार्ता, भ्रमण आदानप्रदान तथा आपसी सहकार्यका विषयमा कुराकानी भएको थियो । हालै काठमाडौँमा सम्पन्न वाणिज्य सचिवस्तरीय तथा भारतको नयाँ दिल्लीमा भएको उर्जासम्बन्धी बैठक र तिनको प्रगतिका विषयमा पनि उहाँहरुबीच कुराकानी भएको थियो ।

भेटमा मन्त्री डा देउवाले भारतसँग भएको उर्जा व्यापारसम्बन्धी सम्झौताले नेपालबाट भारत तथा भारत भएर बंगलादेश विद्युत निर्यात प्रवद्र्धनमा सहयोग पुर्याएको भन्दै भारत सरकारलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । साथै पछिल्लो समयमा दुई देशका बीचको ट्रेड ट्रान्जिट तथा जलस्रोत विकासका क्षेत्रमा भएको प्रगतिका बारेमा उहाँहरुबीच कुराकानी भएको थियो ।

नेपाल भारत बंगलादेशबीचको त्रिपक्षीय विद्युत व्यापार सम्झौता नेपालको उर्जा क्षेत्रका लागि एउटा ठूलो उपलब्धि रहेको भन्दै त्यसका लागि भारतले प्रदान गरेको सहजीकरण उल्लेखनीय रहेको मन्त्री डा देउवाको भनाई थियो ।

भेटमा क्रस बोर्डर विद्युत व्यापार निर्माणको मोडालिटीका विषयमा भएको प्रगतिका बारेमा पनि कुराकानी भएको थियो । साथै नेपाल भारत बीचको व्यापार सन्धीको पुनरावलोकन, यही जनवरीमा काठमडौँमा भएको नेपाल भारत इन्टर गभर्मेन्टल कमिटी बैठकमा धेरै क्षेत्रमा भएका उत्पादनमूलक छलफल र निर्णयका साथै धम्रा र मुन्द्रा थप बन्दरगाहको सञ्चालनका विषयमा पनि कुराकानी भएको थियो ।

साथै सो भेटका क्रममा भारतीय तर्फबाट अतिरिक्त बन्दरगाहहरु सञ्चालनका लागि भएको प्रगति र यसले सीमा पूर्वाधारको विकास र व्यापार प्रवद्र्धन तथा दुई देशबीचको कनेक्टिभिटीमा सुधार ल्याउने भन्दै मन्त्री डा देउवाले प्रसंशा गर्नुभएको थियो ।

पञ्चेश्वर बहुउद्देश्यीय परियोजनासँग सम्बन्धित प्रमुख प्राविधिक समस्याहरु समाधान भइसकेको तथा हालै भएको दुवै देशको मन्त्रीस्तरीय बैठकबाट यसलाई सकारात्मक रुपमा अघि बढाउने समझ्दारी भएको विषयमा उहाँहरुबीच छलफल भएको थियो ।

सो भेटका क्रममा माथिल्लो अरुण परियोजना अघि बढेकोमा भारतीय विदेशमन्त्रीले धन्यवाद व्यक्त गर्नुभएको थियो । साथै विदेशमन्त्री डा जयशंकरले बिमस्टेक संगठनलाई सबै मिलेर अगाडि बढाउनुपर्ने धारणा पनि सो कुराकानीका क्रममा राख्नुभएको थियो ।

मन्त्री डा देउवाले नेपालले भारतसँगको सम्बन्धलाई उच्च महत्व दिँदै आएको र आगामी दिनमा पनि दुवै देशको साझा हितका लागि भारतसँग सहकार्य गर्न नेपाल सदैव इच्छुक रहेको भारतीय विदेशमन्त्रीसमक्ष बताउनुभएको थियो ।
४ फागुन, २०८१

विश्व