शुक्रबार, फाल्गुन २२, २०८२
Friday, March 6, 2026

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा रेमिट्यान्समा अत्याधिक वृद्धि, देशको आर्थिक अवस्था मजबुत बन्दै गइरहेको प्रष्ट संकेत

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा रेमिट्यान्समा अत्याधिक वृद्धि, देशको आर्थिक अवस्था मजबुत बन्दै गइरहेको प्रष्ट संकेत

​काठमाडौं। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालमा रेमिट्यान्स प्रवाह अत्यधिक बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार, यस अवधिमा देशभित्र १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ३९.१ प्रतिशतले बढी हो।

​अघिल्लो वर्षको पहिलो ६ महिनामा रेमिट्यान्स वृद्धिदर केवल ४.२ प्रतिशत रहेको थियो। विशेष गरी २०८२ पुस महिनामा मात्रै १ खर्ब ९२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो, जुन अघिल्लो वर्षको पुस महिनाको १ खर्ब २२ अर्ब ४४ करोड रुपैयाँको तुलनामा उल्लेख्य वृद्धिको संकेत हो।

​डलरमा गणना गर्दा, पुस मसान्तसम्मको रेमिट्यान्स रकम ७ अर्ब ५० करोड डलर पुगेको छ, जसले ३२.३ प्रतिशत वृद्धि देखाउँछ। अघिल्लो वर्षको सोही अवधिमा डलरमा रेमिट्यान्स वृद्धि मात्र २.७ प्रतिशत थियो।

​यसैबीच, खुद ट्रान्सफर (निजी र संस्थागत) ११ खर्ब ६८ अर्ब २ करोड रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको सोही अवधिको ८ खर्ब ३३ अर्ब ८६ करोडको तुलनामा उल्लेख्य वृद्धि हो।

​वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या पनि बढेको छ। यस अवधिमा नयाँ श्रम स्वीकृति २ लाख ६ हजार ८०७ र पुनः श्रम स्वीकृति १ लाख ९४ हजार ७३३ पुगेको छ, जुन अघिल्लो वर्षको क्रमशः २ लाख ३० हजार ४३९ र १ लाख ६२ हजार ६२८ को तुलनामा उल्लेखनीय वृद्धि हो।

​विश्लेषकहरूले यो रेमिट्यान्स वृद्धिलाई वैदेशिक रोजगारीमा नेपाली कामदारहरूको बढ्दो संलग्नता र प्रविधिको माध्यमबाट ट्रान्सफर प्रक्रियामा सहजता आउनुलाई मुख्य कारणका रूपमा व्याख्या गरेका छन्।

विश्व