बिहिबार, फाल्गुन २१, २०८२
Thursday, March 5, 2026

फागुन २१ मा निर्वाचन हुने कुरामा अब शङ्का नगरे हुने भयो: प्रतिनिधिसभा निर्वाचनकेन्द्रित सुरक्षा कडा, जगेडा फोर्स तयारी अवस्थामा

फागुन २१ मा निर्वाचन हुने कुरामा अब शङ्का नगरे हुने भयो: प्रतिनिधिसभा निर्वाचनकेन्द्रित सुरक्षा कडा, जगेडा फोर्स तयारी अवस्थामा

काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सरकारले देशभरको सुरक्षा व्यवस्था थप मजबुत बनाउने भएको छ। मतदाताले निर्धक्क र भयरहित वातावरणमा मतदान गर्न सकून् भन्ने उद्देश्यले सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखिएको गृह मन्त्रालयले जनाएको छ। केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको बैठकले चारवटै सुरक्षा निकायलाई आवश्यक परे तत्काल परिचालन हुने गरी थप ‘जगेडा फोर्स’ तयारी अवस्थामा राख्ने निर्णय गरेको हो।

बैठकमा गृहमन्त्री अर्यालले निर्वाचन सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन सबै सुरक्षा निकायबिच प्रभावकारी समन्वय र सूचना आदानप्रदानलाई प्राथमिकता दिन निर्देशन दिनुभयो। उहाँले मतदान केन्द्र, मतपेटिका ओसारपसार र मतगणना स्थलसम्मको सुरक्षा व्यवस्थापन त्रुटिरहित बनाउन विशेष ध्यान दिन आग्रह गर्नुभएको छ।

केही स्वार्थ समूहले अझै पनि आगामी फागुन २१ गते निर्वाचन हुन नसक्ने भनी अफवाह र त्रास फैलाएर आफ्नो स्वार्थसिद्ध गर्न खोजिरहेको समयमा सरकारले निर्वाचन निर्धारित समयमै शान्तिपूर्ण रूपमा सम्पन्न गर्न जगेडा सुरक्षा फोर्सको व्यवस्था गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। सरकारको यो तयारीले निर्वाचनको सुनिश्चितता र सुरक्षाप्रति संशय पैदा गर्ने तत्वहरूलाई कडा जवाफ दिने विश्वास गरिएको छ।

सरकारले संवेदनशील र अति संवेदनशील मतदान केन्द्रहरूको पहिचान गरी त्यहाँ विशेष सुरक्षा प्रबन्ध मिलाउने तयारी गरेको छ। साथै, सुरक्षा गस्ती तथा निगरानी बढाइने र भ्रामक सूचना एवं अफवाह फैलाउने गतिविधिमाथि कडा नजर राखिने बताइएको छ। बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीहरूको उपस्थिति थियो।

सहभागी निकायहरूले शान्तिपूर्ण र विश्वसनीय निर्वाचन सम्पन्न गराउन पूर्ण प्रतिबद्धता व्यक्त गरेका छन्। सरकारले लोकतन्त्रको महत्त्वपूर्ण पर्वका रूपमा रहेको निर्वाचनमा सक्रिय सहभागिता जनाउन सम्पूर्ण मतदातालाई आह्वान गरेको छ।

विश्व