सोमवार, फाल्गुन २५, २०८२
Monday, March 9, 2026

बालेनले बुझाए निर्वाचन खर्च विवरण, १४ लाख १७ हजार रुपैयाँ खर्च भएको दाबी

बालेनले बुझाए निर्वाचन खर्च विवरण, १४ लाख १७ हजार रुपैयाँ खर्च भएको दाबी

​काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रतिनिधि सभा निर्वाचनमा भएको आफ्नो खर्चको विवरण सम्बन्धित निर्वाचन कार्यालयमा बुझाएका छन्।

​झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका शाहले आफ्नो चुनावी अभियानमा कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको विवरण पेश गरेका हुन्। निर्वाचनपछि खर्च विवरण बुझाउने उम्मेदवारमध्ये उनी पहिलो बनेका छन्।

​चुनावी प्रतिस्पर्धामा खर्चबारे प्रायः उठ्ने प्रश्न र आरोप–प्रत्यारोपका बीच शाहले सार्वजनिक रूपमा खर्च विवरण बुझाउँदै पारदर्शिताको सन्देश दिन खोजेका छन्। प्रजातन्त्रमा सार्वजनिक पदमा रहने व्यक्तिको काम र खर्च दुवै खुला हुनुपर्छ भन्ने मान्यतालाई व्यवहारमा देखाउन उनले प्रयास गरेको उनका समर्थकहरूको भनाइ छ।

​शाहले बुझाएको विवरणअनुसार १५ दिनको चुनावी अभियानका क्रममा दुई वटा सवारी साधन भाडामा लिँदा इन्धनसहित २ लाख ९३ हजार ८ सय रुपैयाँ खर्च भएको उल्लेख छ। पाँच पटकको हवाई यात्रामा ३५ हजार रुपैयाँ खर्च भएको देखाइएको छ भने मतदाता प्रशिक्षण कार्यक्रममा सहभागीहरूका लागि खाजा व्यवस्थामा २८ हजार ९७० रुपैयाँ खर्च गरिएको जनाइएको छ।

​यसैगरी वडास्तरीय प्रचार–प्रसार कार्यक्रममा ५ लाख ८० हजार रुपैयाँ खर्च भएको छ। नमुना मतपत्र छपाइमा ४९ हजार ८५० रुपैयाँ, निर्वाचन कार्यालय सञ्चालनका क्रममा दुई महिनाको पानी खर्च १ लाख २० हजार रुपैयाँ र कार्यालय सामग्री (कागज, कलम लगायत) मा २२ हजार ८२० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।

​प्रचार सामग्रीतर्फ झण्डा र ब्याच छपाइमा १ लाख ५७ हजार ४१ रुपैयाँ, ब्यानर तथा स्टिकर छपाइमा १ लाख १९ हजार ८०८ रुपैयाँ खर्च भएको छ भने मनोनयन दर्ताका लागि १० हजार रुपैयाँ खर्च भएको जनाइएको छ।

​उक्त खर्च विवरण निर्वाचन प्रतिनिधि नवीन भण्डारीको हस्ताक्षरसहित निर्वाचन कार्यालयमा बुझाइएको हो।

विश्व