बिहिबार, चैत्र ५, २०८२
Thursday, March 19, 2026

निर्वाचन पराजयको नैतिक जिम्मेवारी लिँदै कांग्रेस सभापति गगन थापाद्वारा राजीनामा

निर्वाचन पराजयको नैतिक जिम्मेवारी लिँदै कांग्रेस सभापति गगन थापाद्वारा राजीनामा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको अप्रत्याशित हारको नैतिक जिम्मेवारी लिँदै आफ्नो पदबाट राजीनामा दिएका छन्। गत फागुन २१ गते भएको निर्वाचनमा आफू स्वयं पराजित भएपछि थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा पत्र बुझाएका हुन्। यसअघि काठमाडौँ-४ बाट निरन्तर निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही-४ बाट उम्मेदवार बनेका थिए, जहाँ उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. अमरेशकुमार सिंहले पराजित गरे। निर्वाचनमा रास्वपाले झन्डै दुई-तिहाइ सिटसहित ऐतिहासिक सफलता हासिल गर्दा कांग्रेस प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सिटमा खुम्चिएर दोस्रो दल बनेको छ।

विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति निर्वाचित भएका थापालाई चुनावी नतिजा सार्वजनिक भएलगत्तै पार्टीका विभिन्न तहका नेताहरूले राजीनामा नदिन सुझाव र दबाब दिँदै आएका थिए। यद्यपि, थापाले राजनीतिक नैतिकतालाई जोड दिँदै राजीनामा दिने निर्णय लिएका हुन्। उनको यो राजीनामाबारे अन्तिम निर्णय लिन नेपाली कांग्रेसले आगामी शुक्रबार केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ। सभापति थापाको अनुपस्थितिमा उक्त बैठकको अध्यक्षता उपसभापति विश्वप्रकाश शर्माले गर्नेछन् भने बैठकको मुख्य कार्यसूचीमा थापाको राजीनामा र निर्वाचनमा भोगेको पराजयको प्रारम्भिक समीक्षा रहने बताइएको छ।

केन्द्रीय कार्यालयले देशभरका सबै निर्वाचन क्षेत्रमा परिपत्र गरी हार र जितका स्पष्ट कारणहरू खुलाएर पठाउन निर्देशन दिइसकेको छ। तल्लो तहबाट पूर्ण विवरण आउन बाँकी रहेकाले उपसभापति शर्माले बैठकमा पराजयको प्रारम्भिक खाका प्रस्तुत गर्ने तयारी गरेका छन्। पार्टी स्रोतका अनुसार शुक्रबारको बैठक मुख्यतया सभापति थापाको राजीनामामै केन्द्रित हुने देखिन्छ। उपसभापति शर्माले व्यक्तिको कारणले नभई विशेष महाधिवेशनलगत्तै छोटो तयारीमा चुनावमा होमिनु परेकाले यस्तो नतिजा आएको तर्क गर्दै थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव बैठकमा लैजाने तयारी गरेका छन्।

विश्व