काठमाडौँ — नयाँ सरकार गठनको प्रक्रिया सुरु भएसँगै लामो समयदेखि सुस्ताएको सेयर बजारमा उत्साहजनक सुधार देखिएको छ। राजनीतिक समीकरणमा आएको परिवर्तनले लगानीकर्तामा आशा जगाउँदा बिहीबार नेप्से परिसूचक ६४.६९ अंकले बढेर २८७७ विन्दुमा पुगेको छ। यस वृद्धिलाई मुख्यगरी वाणिज्य बैंक र विकास बैंक समूहले डोहोर्याएका छन्। विशेषगरी बजारको सबैभन्दा ठूलो हिस्सा ओगटेको वाणिज्य बैंक समूहमा प्राविधिक रूपमा ‘गोल्डेन क्रस-ओभर’ को संकेत देखिएको छ, जसले आगामी दिनमा यो क्षेत्रको मूल्य थप बढ्न सक्ने बलियो सम्भावना देखाउँछ। ५० दिने औसत मूल्यले २०० दिने औसतलाई काटेर माथि लाग्नुलाई बजारका जानकारहरूले सुखद संकेतका रूपमा लिएका छन्, जसले धेरै समयपछि बैंकका सेयरहरूमा चमक आउने अपेक्षा गरिएको छ।
अहिलेको बजारमा लगानीकर्ताका लागि सबैभन्दा आकर्षक पक्ष भनेको वाणिज्य बैंकहरूको सस्तो सेयर मूल्य हो। सूचीकृत १९ मध्ये १० वटा बैंकको सेयर अझै पनि प्रति-कित्ता ३०० रुपैयाँभन्दा कममा पाइनुले साना र मध्यम लगानीकर्ताको आकर्षण बढेको छ। नेपाल इन्भेस्टमेन्ट मेगा, प्रभु, हिमालयन, सिटिजन्स, कुमारी र ग्लोबल आइएमई जस्ता बैंकको सेयर त २५० रुपैयाँभन्दा पनि कममा कारोबार भइरहेका छन्। धेरै पुँजी भएका कारण यी बैंकको सेयरमा अन्य कम्पनीमा जस्तो अस्वाभाविक उतारचढाव हुँदैन, जसले गर्दा जोखिम कम र स्थिरता बढी खोज्नेहरूका लागि यो सुरक्षित विकल्प बनेको छ। बजार पुँजीकरणमा करिब २५ प्रतिशत हिस्सा ओगटेको यो क्षेत्र चलायमान हुनु भनेको समग्र नेप्से परिसूचककै लागि एउटा बलियो ‘इन्जिन’ सावित हुनु हो।
अर्कातर्फ, बैंकहरूको आन्तरिक वित्तीय स्वास्थ्यमा पनि क्रमिक सुधार देखिन थालेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदन अनुसार बैंकहरूले खराब कर्जाका लागि छुट्याएको रकम (प्रोभिजनिङ) फिर्ता हुने दर बढेको छ भने उनीहरूले सकारेको गैर-बैंकिङ सम्पत्तिमा पनि गिरावट आएको छ। असारमा ७४ अर्ब रुपैयाँसम्म पुगेको कर्जा नोक्सानी व्यवस्था माघमा घटेर ५७ अर्बमा झर्नुले बैंकहरू फेरि लयमा फर्किएको संकेत गर्दछ। यसरी एकातिर राजनीतिक स्थिरताको आशा र अर्कोतिर बैंकहरूको सुध्रिँदो वित्तीय अवस्थाले गर्दा आगामी दिनमा सेयर बजारले थप उचाइ लिने विश्वास गरिएको छ।