काठमाडौँ । लामो समयदेखि विभिन्न हल्ला, मनोवैज्ञानिक दबाब र कृत्रिम नकारात्मक प्रचारले प्रभावित बनेको नेपाली शेयर बजार अब क्रमशः सुधारको दिशातर्फ अघि बढ्न थालेको विश्लेषकहरूले बताएका छन्। केही व्यवसायी तथा ठूला लगानीकर्ता शेयर कारोबारसम्बन्धी अनुसन्धानको दायरामा परेको विषयलाई अतिरञ्जित ढंगले प्रस्तुत गर्दै बजार निरन्तर घट्ने वातावरण बनाइएको भए पनि अब ती हल्लाहरू क्रमशः निष्प्रभावी बन्दै गएको उनीहरूको भनाइ छ। बजारका आधारभूत सूचकहरू सुधार हुँदै जानु, सरकारबाट पूँजी बजार सुधारका स्पष्ट संकेत आउनु तथा लगानीकर्ताको विश्वास विस्तारै फर्किन थालेका कारण अब बजार क्रमिक रूपमा बढ्ने चरणमा प्रवेश गरेको विश्लेषकहरूको दाबी छ।
यसैबीच सरकारले पूँजी बजार सुधारका लागि अघि सारेका नीतिगत योजना, संरचनात्मक सुधारका कार्यक्रम तथा आगामी बजेटप्रति बढ्दो आशाले बजारमा नयाँ ऊर्जा थपेको देखिन्छ। सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा समेत पूँजी बजार सुधार, लगानीमैत्री वातावरण निर्माण, निजी क्षेत्रको मनोबल वृद्धि तथा वित्तीय क्षेत्रलाई चलायमान बनाउने विषयलाई प्राथमिकताका साथ समावेश गरिएको छ।
विशेषगरी, कर संरचनामा सुधार, पूँजी बजारसम्बन्धी कानुनी तथा नियामकीय अस्पष्टता हटाउने संकेत, संस्थागत लगानी विस्तार, प्रविधिमैत्री कारोबार प्रणाली तथा लगानीकर्ताको संरक्षणलाई जोड दिइनुले बजारमा सकारात्मक मनोविज्ञान निर्माण भएको विश्लेषण गरिएको छ।
बजार विश्लेषकहरूका अनुसार अहिलेको अवस्था केवल “सामान्य रिकभरी” मात्र नभई “विश्वास पुनर्निर्माण” को चरण पनि हो। विगतमा फैलाइएका डर र नकारात्मक प्रचार क्रमशः निष्प्रभावी हुँदै जाँदा लगानीकर्ताहरू फेरि बजारप्रति आशावादी बन्न थालेका छन्।
यही कारण पछिल्ला दिनहरूमा कारोबार रकममा वृद्धि, निष्क्रिय लगानीकर्ताको पुनःप्रवेश तथा केही क्षेत्रगत सूचकमा तीव्र सुधार देखिन थालेको छ। दैनिक कारोबारमा देखिएको सक्रियता र बजारमा बढ्दो खरिद चापले पनि लगानीकर्ताको मनोविज्ञान बदलिँदै गएको संकेत दिएको विश्लेषकहरूको भनाइ छ।
बजारका जानकारहरूका अनुसार यदि सरकारले घोषणा गरेका सुधार कार्यक्रम बजेटमार्फत थप स्पष्ट र व्यवहारिक रूपमा अघि बढाइए भने NEPSE Index बजेटअघि नै ३२ सय विन्दु आसपास पुग्ने सम्भावना बलियो बन्न सक्छ। उनीहरूका अनुसार अहिले बजारमा “डरभन्दा अपेक्षा” र “अनिश्चितताभन्दा सुधारको संकेत” बढी प्रभावशाली बन्दै गएको छ।
यद्यपि, विश्लेषकहरूले बजार स्वभावतः संवेदनशील हुने भएकाले हल्ला, कृत्रिम प्रचार वा छोटो अवधिको चलखेलभन्दा आधारभूत आर्थिक अवस्था, नीतिगत स्थिरता र दीर्घकालीन सम्भावनालाई हेरेर लगानी निर्णय लिनुपर्ने सुझाव दिएका छन्।