काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र आज मंगलबारदेखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्णरुपमा रोक लगाईएको छ ।
महानगरपालिकाको स्वास्थ्य विभागले यही मंसिर १२ गते एक सार्वजनिक सूचना जारी गर्दै काठमाडौँ महानगरपालिका क्षेत्रभित्र मंसिर २७ गतेदेखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्णरुपमा रोक लगाउने निर्णय गरेको थियो ।
महानगरपालिकाको उक्त सूचना अनुसार प्लास्टिकमा प्याक गरिएका चुरोट, बिडी, तमाखु, खैनी, गुट्खा र पान परागजस्ता सुर्तीजन्य पदार्थहरूको बिक्री वितरण काठमाडौँ महानगरपालिका क्षेत्रभित्र गर्न पाईनेछैन ।
महानगरपालिकाकाले कसैले अवज्ञा गरेर चुरोट, बिडी, तमाखु, खैनी, गुट्खा र पान परागजस्ता सुर्तीजन्य पदार्थहरूको बिक्री वितरण गरेको पाइए महानगर प्रहरीमार्फत जफत गरी कानुनअनुसार अधिकतम सजाय गरिने चेतावनी दिएको छ । यद्यपी महानगरपालिकाको उक्त निर्णय कार्यान्वयनमा भने गम्भिर आशंका उब्जिएको छ ।
काठमाडौं महानगरपालिका गल्ली र चोकहरुमा राखिएका पसलहरुमा बिगतमा जस्तै चुरोट, बिडी, तमाखु, खैनी, गुट्खा र पान परागजस्ता सुर्तीजन्य पदार्थहरूको बिक्री वितरण निर्वादरुपमा भईरहेको देखिएको थियो ।