काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनका उम्मेदवार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेरि पनि गोली प्रहार गरेर हत्या गर्ने प्रयास भएको छ । यद्यपी पछिल्लो घटनाबाट उनलाई कुनै चोटपटक लागेको छैन ।
अमेरिकाको फ्लोरिडास्थित वेष्टपाम बीचको गल्फ कोर्स नजिकै एके ४७ जस्तो देखिने हतियारबाट ट्रम्पमाथि गोली हान्ने प्रयास भएको तर ति आक्रमणको प्रयास गर्नेलाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार ५८ वर्षीय यान वेल्सी नामका ब्यक्तिले गल्फ कोर्स नजिकैको एक झाडीबाट बन्दुक तेर्साएका थिए । अमेरिकी जासुसी संस्था एफबीआईले पनि ट्रम्पको हत्या गर्ने प्रयास भएको जस्तो देखिएपछि ति ब्यक्तिलाई पक्राउ गर्न सफल भईएको जनाएको छ ।
गत असारमा पनि पेन्सेलभेनियाको एक चुनावी कार्यक्रममा सम्वोधन गरिरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको थियो । गोली लागेर ट्रम्पको कानमा मात्र घाउ लागेको थियो । गोली प्रहार गर्ने व्यक्ति पनि सुरक्षा कारबाहीमा मारिएका थिए ।
पछिल्लो हत्या प्रयासपछि ट्रम्पले आफूलाई रोक्न खोज्नेहरु जे गर्न पनि तयार भएको भन्दै संघर्ष नरोक्ने प्रतिक्रिया दिएका छन् । साथै उनले आफू सुरक्षित भएको भन्दै आफ्ना समर्थकलाई नडराउन आह्वान गरेका छन् ।