शुक्रबार, फाल्गुन २२, २०८२
Friday, March 6, 2026

युएईले राष्ट्रिय दिवसको अवसरमा दियो २६७ नेपालीलाई आममाफी, नेपाल सरकारद्वारा कृतज्ञता व्यक्त

युएईले राष्ट्रिय दिवसको अवसरमा दियो २६७ नेपालीलाई आममाफी, नेपाल सरकारद्वारा कृतज्ञता व्यक्त

​काठमाडौं। संयुक्त अरब इमिरेट्स (युएई) सरकारले ५४ औं ईद अल इतिहाद (राष्ट्रिय दिवस) को अवसरमा विभिन्न मुद्दामा सजाय भोगिरहेका २६७ जना नेपाली नागरिकलाई आममाफी दिएको छ।
​युएई सरकारको यस निर्णयपछि नेपाल सरकारले औपचारिक रूपमा आभार र कृतज्ञता व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा आममाफीको जानकारी दिँदै यस कदमलाई नेपाल–युएई सम्बन्धमा मित्रता र सद्भावनाको सकारात्मक संकेतका रूपमा मूल्यांकन गरेको छ।

​मन्त्रालयका अनुसार आममाफी पाएका नेपाली नागरिकहरू युएईका विभिन्न कारागारमा सामान्य आपराधिक घटना, आव्रजन नियम उल्लंघन तथा अन्य कानुनी कारणले सजाय भोगिरहेका थिए। आममाफीसँगै उनीहरूलाई चरणबद्ध रूपमा रिहा गर्ने प्रक्रिया सुरु भएको मन्त्रालयले जनाएको छ।

​विज्ञप्तिमा उल्लेख गरिएअनुसार आममाफी सुनिश्चित गर्न आबुधाबीस्थित नेपाली दूतावासले कूटनीतिक स्तरमा निरन्तर पहल गर्दै आएको थियो। परराष्ट्र मन्त्रालयको निर्देशनमा दूतावासले युएई सरकारसँग पटक–पटक समन्वय र अनुरोध गरेपछि यसको सकारात्मक परिणाम आएको जनाइएको छ।

​नेपाल सरकारले युएई सरकार, त्यहाँका सम्बन्धित निकाय तथा नेपाली दूतावासप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि युएईमा रहेका नेपाली नागरिकको हित, सुरक्षा र कल्याणका विषयमा सहकार्य अझ बलियो बन्ने विश्वास व्यक्त गरेको छ।

​युएईमा हाल लाखौं नेपाली श्रमिक रोजगारीमा संलग्न छन्। त्यसैले यस किसिमको आममाफीलाई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि मानवीय राहतका साथै नेपाल–युएई सम्बन्ध थप बलियो बनाउने सकारात्मक कदमका रूपमा हेरिएको छ।

विश्व