बिहिबार, फाल्गुन २१, २०८२
Thursday, March 5, 2026

भारतमा देखियो निपाह, नेपालमा सतर्कता

भारतमा देखियो निपाह, नेपालमा सतर्कता

​काठमाडौँ — नेपालमा हालसम्म निपाह भाइरसको सङ्क्रमण पुष्टि नभए पनि छिमेकी मुलुकमा देखिएको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उच्च सतर्कता अपनाएको छ। मन्त्रालयले देशभरका सरकारी तथा निजी अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

​स्वास्थ्य मन्त्रालयका अनुसार निपाह भाइरस प्राणघातक हुन सक्ने भएकाले प्रारम्भिक चरणमै सावधानी अपनाइएको हो। शङ्कास्पद लक्षण देखिएका बिरामीको पहिचान, नमुना सङ्कलन र परीक्षणका लागि आवश्यक प्रबन्ध मिलाइसकिएको मन्त्रालयले जनाएको छ। केन्द्रीय तथा प्रादेशिक प्रयोगशालाहरूलाई समेत सजग रहन भनिएको छ।

​स्वास्थ्य विज्ञहरूका अनुसार निपाह भाइरस मुख्यतया चमेरोबाट मानिसमा सर्ने गर्छ भने सङ्क्रमित व्यक्तिबाट अर्को व्यक्तिमा पनि फैलिन सक्छ। उच्च ज्वरो, टाउको दुख्ने, श्वासप्रश्वासमा समस्या, वाकवाकी लाग्ने र गम्भीर अवस्थामा स्नायु प्रणालीमा असर पर्नु यसका प्रमुख लक्षण हुन्।

​मन्त्रालयले आम नागरिकलाई अनावश्यक अफवाहको पछि नलाग्न आग्रह गरेको छ। श्वासप्रश्वासमा समस्या वा अन्य अस्वस्थता देखिएमा ढिलाइ नगरी नजिकको स्वास्थ्य संस्थामा जाँच गराउन अनुरोध गरिएको छ। साथै, फलफूल राम्ररी धोएर मात्र खान, अधकल्चो पकाएको खानेकुरा नखान र बिरामीसँगको अनावश्यक सम्पर्कबाट टाढा रहन सुझाव दिइएको छ।

​आवश्यकता अनुसार सीमा नाकामा स्वास्थ्य जाँच, निगरानी र जनचेतनामूलक कार्यक्रम विस्तार गरिने मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा सङ्क्रमण नदेखिएकाले आत्तिनुपर्ने अवस्था नरहे पनि सतर्क रहनु सबैको साझा दायित्व भएको मन्त्रालयको निष्कर्ष छ।

विश्व