बिहिबार, फाल्गुन २१, २०८२
Thursday, March 5, 2026

झाँक्रीको अभिव्यक्ति: प्रवासी नेपालीमाथि प्रहार कि राजनीतिक असहिष्णुता?

झाँक्रीको अभिव्यक्ति: प्रवासी नेपालीमाथि प्रहार कि राजनीतिक असहिष्णुता?

​काठमाडौँ। राष्ट्रिय सभाकी नवनिर्वाचित सांसद रामकुमारी झाँक्रीको पछिल्लो अभिव्यक्तिले यतिबेला प्रवासी नेपाली समुदायमा गम्भीर असन्तोष पैदा गरेको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानाडाले औपचारिक विज्ञप्ति जारी गर्दै झाँक्रीको टिप्पणीलाई “अपमानजनक, असंवेदनशील र विभाजनकारी” ठहर गरेको छ।
​संघका अनुसार, रेमिट्यान्स, सीप, ज्ञान र लगानीमार्फत नेपालको अर्थतन्त्रमा दीर्घकालीन योगदान पुर्‍याउँदै आएको डायस्पोरा समुदायलाई एकै झट्कामा अवमूल्यन गर्ने प्रयास राजनीतिक रूपमा गैरजिम्मेवार मात्र होइन, तथ्यहीन पनि हो।

​नेपालको अर्थतन्त्रको एक प्रमुख आधारस्तम्भ रेमिट्यान्स हो। राज्य संरचना कमजोर हुँदा, राजनीतिक अस्थिरता बढ्दा र रोजगारीका अवसर सीमित हुँदा लाखौँ नेपाली विदेशिन बाध्य भएका हुन्। यस्तो यथार्थलाई बेवास्ता गर्दै प्रवासीहरूलाई नै दोषारोपण गर्नु समस्या समाधान होइन, जिम्मेवारीबाट पन्छिने प्रवृत्ति भएको एनआरएनए क्यानाडाको ठहर छ।

​संघले विशेषगरी झाँक्रीले विदेशमा रहेका नेपालीको मताधिकार र “एकपटकको नेपाली सधैँको नेपाली” भन्ने नागरिकतासम्बन्धी मागप्रति देखाएको नकारात्मक धारणा लोकतान्त्रिक मूल्य र समावेशी राज्यको अवधारणासँग मेल नखाने दाबी गरेको छ। प्रश्न उठाइएको छ— देशको अर्थतन्त्र धान्ने, संकटमा सहयोग गर्ने र राष्ट्रिय पहिचानलाई विश्वभर विस्तार गर्ने समुदायलाई राजनीतिक अधिकारबाट टाढा राख्नु कति न्यायोचित हो?

​विज्ञप्तिमा पूर्वमन्त्रीसमेत रहेकी झाँक्रीबाट पटक–पटक यस्तै अभिव्यक्ति दोहोरिनु चिन्ताजनक रहेको उल्लेख छ। जनप्रतिनिधिको हैसियतले अभिव्यक्ति स्वतन्त्रता प्रयोग गर्दा संवेदनशीलता, सन्तुलन र तथ्यप्रतिको उत्तरदायित्व अनिवार्य हुने संघले स्मरण गराएको छ।
​एनआरएनए क्यानाडाले स्पष्ट सन्देश दिएको छ— प्रवासी नेपाली समुदायको गरिमा, आत्मसम्मान र नागरिक अधिकारको सवालमा कुनै सम्झौता हुने छैन। विभाजनकारी भाष्यको प्रतिवाद गर्दै संवाद र तथ्यमा आधारित बहस आवश्यक रहेको संघको जोड छ।

​यस प्रकरणले एउटा गम्भीर प्रश्न फेरि उठाएको छ: प्रवासी नेपालीहरू राष्ट्रका साझेदार हुन् कि केवल आर्थिक स्रोत? राजनीतिक नेतृत्वले अब स्पष्ट उत्तर दिनुपर्ने बेला आएको छ।

विश्व