शुक्रबार, फाल्गुन २२, २०८२
Friday, March 6, 2026

एनआरएनएका उपाध्यक्ष रोविन शेरचनको अपील: “संस्था ठूलो हो, व्यक्ति होइन; १२औँ महाधिवेशनलाई एकताको उत्सव बनाऔँ”

एनआरएनएका उपाध्यक्ष रोविन शेरचनको अपील: “संस्था ठूलो हो, व्यक्ति होइन; १२औँ महाधिवेशनलाई एकताको उत्सव बनाऔँ”

​काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशनको मिति नजिकिँदै जाँदा नेतृत्वका लागि चुनावी सरगर्मी बढेको छ। यसैबीच, अध्यक्ष पदका प्रबल दावेदार एवं वर्तमान उपाध्यक्ष रोविन शेरचनले भने सत्ता र शक्तिभन्दा पहिले संस्थाको भविष्य र एकतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।

​शेरचनले हालै सार्वजनिक गरेको ‘बृहत् एकताका लागि अपील’ मार्फत् “संस्था ठूलो हो, व्यक्ति होइन” भन्ने स्पष्ट सन्देश दिँदै सहमतिको राजनीतिमा जोड दिएका हुन्। उनको यो अपीलसँगै विश्वभर रहेका गैरआवासीय नेपाली समुदायमा एकता र संवादको नयाँ बहस सुरु भएको छ।

​’एकताका लागि विश्व दौडाहा’

​अपीलमा मात्र सीमित नभई शेरचन आगामी दुई हप्ताका लागि विश्व भ्रमणमा निस्कने भएका छन्। उनले अमेरिका, क्यानडा, ओसियानिया, मध्यपूर्व, युरोप र एसियाका विभिन्न देशहरूमा पुगेर त्यहाँका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) सँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम तय गरेका छन्।

​उनले भनेका छन्, “हामीबीच भएका असमझदारीहरू सँगै बसेर छलफल गर्दा समाधान हुन सक्छन्। मेरो प्रयास चुनावी प्रतिस्पर्धालाई विभाजनको आधार बनाउनु नभई संस्थालाई सुदृढ बनाउने अवसरको रूपमा उपयोग गर्नु हो।”

​मुख्य एजेन्डा: पारदर्शी निर्वाचन र समान मताधिकार
​पछिल्लो समय एनआरएनएभित्र डेलिगेट्स (प्रतिनिधि) चयन र मतदान प्रक्रियालाई लिएर केही असन्तोष देखिएको सन्दर्भमा शेरचनले पारदर्शी र सहज निर्वाचन प्रणालीको आवश्यकता औँल्याएका छन्। विश्वभर छरिएका सदस्यहरूले समान रूपमा मताधिकार प्रयोग गर्न पाउनुपर्ने र यसका लागि अनलाइन वा भौतिक मतदान दुवैलाई विश्वसनीय बनाउनुपर्ने उनको धारणा छ।

​’एकताको महाधिवेशन’ मा अडान

​फागुन ३० देखि चैत २ सम्म काठमाडौँमा आयोजना हुन लागेको १२औँ महाधिवेशनलाई शेरचनले ‘एकताको महाधिवेशन’ बनाउनुपर्ने आफ्नो अडान दोहोर्‍याएका छन्। संस्थाभित्रको आन्तरिक तिक्तता घटाउन र सबैलाई एउटै मालामा गाँस्न उनको यो संवाद पहलले कत्तिको प्रभाव पार्छ भन्ने विषयलाई अहिले एनआरएनए वृत्तमा निकै चासोका साथ हेरिएको छ।

​गैरआवासीय नेपालीहरूको साझा संस्था एनआरएनएमा देखा परेका चुनौतीहरूलाई चिर्दै शेरचनको यो ‘मध्यमार्गी’ र ‘एकताकारी’ भूमिकाले संघको भविष्यलाई नयाँ दिशा दिने विश्वास धेरैले व्यक्त गरेका छन्।

विश्व