शुक्रबार, फाल्गुन २२, २०८२
Friday, March 6, 2026

अमेरिकामा भीषण हिमआँधी: ५ हजारभन्दा बढी उडान रद्द, लाखौं मानिस अन्धकारमा

अमेरिकामा भीषण हिमआँधी: ५ हजारभन्दा बढी उडान रद्द, लाखौं मानिस अन्धकारमा

न्यूयोर्क । अमेरिकाको पूर्वी तटीय क्षेत्रमा सोमबार आएको शक्तिशाली हिमआँधीले जनजीवन पूर्ण रूपमा अस्तव्यस्त बनाएको छ। रेकर्ड तोड्ने गरी भएको हिमपातका कारण ५ हजार ६ सय ७५ भन्दा बढी उडानहरू रद्द भएका छन् भने लाखौं मानिसहरू विद्युत् सेवाबाट वञ्चित भएका छन्। अमेरिकी राष्ट्रिय मौसम सेवाका अनुसार रोड आइल्याण्ड र म्यासाचुसेट्सका केही भागमा ३३ इन्च (८३ सेमी) सम्म हिउँ जमेको छ, जसले सन् १९७८ को ऐतिहासिक कीर्तिमानलाई समेत उछिनेको छ।

न्यूयोर्क सिटीको सेन्ट्रल पार्कमा मात्रै १९ इन्चभन्दा बढी हिउँ जमेपछि यात्रा अवस्था ‘झन्डै असम्भव’ बनेको छ। न्यूयोर्क, न्यूजर्सी र म्यासाचुसेट्स लगायतका राज्यमा ६ लाखभन्दा बढी घरधुरी र व्यवसायहरू विद्युत् आपूर्तिबाट बञ्चित भएका छन्। म्यासाचुसेट्सको केप कोड क्षेत्रमा मात्रै ८५ प्रतिशत उपभोक्ता प्रभावित भएको बीबीसीले जनाएको छ। हिमआँधीको प्रभाव नर्थ क्यारोलिनादेखि नर्दन मेनसम्म देखिएको छ भने पूर्वी क्यानडाका केही क्षेत्रमा समेत सतर्कता अपनाउन भनिएको छ।

हवाई सेवामा परेको प्रभाव झन् भयावह देखिएको छ। फ्लाइट अवेरका अनुसार ला गार्डिया विमानस्थलबाट ९८ प्रतिशत र जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट ९१ प्रतिशत उडानहरू रद्द भएका छन्। कनेक्टिकट र रोड आइल्यान्डमा अत्यावश्यक बाहेकका यात्रामा पूर्ण प्रतिबन्ध लगाइएको छ भने म्यासाचुसेट्सकी गभर्नर मउरा हिलीले ‘ह्वाइटआउट’ अवस्थाका कारण यात्रा अत्यन्त जोखिमपूर्ण भएको भन्दै सर्वसाधारणलाई घरमै बस्न अपिल गरेकी छिन्। सडकमा हिउँ पन्छ्याउने कार्यमा अवरोध पुर्‍याएका सयौं सवारी साधनलाई क्रेनको सहायताले हटाइएको छ।

मौसम विभागले मंगलबार बिहानसम्म थप १ देखि २ फिटसम्म हिउँ थपिन सक्ने चेतावनी दिएको छ। अमेरिकाको सबैभन्दा सानो राज्य रोड आइल्यान्डका लागि यो अहिलेसम्मकै सबैभन्दा ठूलो प्राकृतिक चुनौती बनेको छ। हिउँका कारण रुखहरू ढल्ने र हाँगा भाँचिने क्रम जारी रहेकाले सडक यात्रा अझै केही दिन चुनौतीपूर्ण हुने अनुमान गरिएको छ।

विश्व