दोषी खोज्ने कि बाटो रोज्ने? कांग्रेस रूपान्तरणका लागि एक सुझाव

दोषी खोज्ने कि बाटो रोज्ने? कांग्रेस रूपान्तरणका लागि एक सुझाव

पि.बि. पोखरेल
नेपाली राजनीतिमा अहिले एउटा पेचिलो प्रश्न छ— के नेपाली कांग्रेस आफ्नै इतिहासको भारले थिचिएको हो? निर्वाचनपछिको समीक्षा र आगामी बाटोबारे बहस चर्किएको छ। तर, कांग्रेसले अब बुझ्न ढिला गर्नु हुँदैन कि यो केवल एउटा राजनीतिक दल मात्र होइन, बरु नेपालमा लोकतन्त्रको एउटा अविरल ‘महाअभियान’ र लाखौँ कार्यकर्ताको ‘आस्थाको मन्दिर’ पनि हो। कांग्रेस पुनर्जागरणका लागि निम्न मानवीय र संरचनागत पक्षमा ध्यान दिनु आवश्यक छ:

१. लोकतन्त्रको राजमार्ग र नयाँ पदचापहरू

कांग्रेसले दशकौँ लगाएर, कयौँ कार्यकर्ताको सिन्दूर पुछिएर र कयौँको रगत बगाएर मुलुकमा लोकतन्त्रको जुन फराकिलो ‘राजमार्ग’ निर्माण गर्‍यो, आज त्यहाँ धेरै नयाँ र रङ्गीचङ्गी गाडीहरू गुड्न खोज्दैछन्। लोकतान्त्रिक प्रणालीको सुन्दरता नै यही हो— हामीले बनाएको बाटोमा अरू पनि हिँड्न पाउनुपर्छ।

यदि कोही नयाँ कौशलका साथ त्यो बाटोमा प्रतिस्पर्धा गर्न चाहन्छ भने उसलाई निषेध गर्ने वा तर्सिने होइन, बरु मुसुक्क हाँसेर ठाउँ दिनुपर्छ। किनकि ती नयाँ आवाजहरूमा हाम्रै पुस्ताको संघर्षको प्रतिध्वनि सुनिन्छ। तर, यदि कसैले दिशाहीन गतिमा यो कठोर परिश्रमले बनेको प्रणाली नै भत्काउन खोज्छ भने, त्यसलाई सही दिशा निर्देश गर्ने ‘अभिभावकीय’ जिम्मेवारी पनि कांग्रेसकै काँधमा छ। यो राजमार्गमा अरुको गति देखेर आत्तिने होइन, बरु आफ्नै वैचारिक इन्जिनमा निष्ठाको इन्धन भर्ने अवसरका रूपमा यसलाई लिनुपर्छ।

२. पुस्तान्तरण: विस्थापन होइन, विरासतको पालुवा

समयको मागअनुसार नेतृत्वमा युवा पुस्ता आउनैपर्छ। तर, युवा आउनुको अर्थ पुरानालाई अपमानजनक ढंगले बिदाइ गर्नु पक्कै होइन। नेपाली कांग्रेस कुनै ‘मौसमी वनस्पति’ होइन, जो एक झरीपछि ओइलाएर जाओस्। यो त दशकौँको इतिहास र त्यागको जगमा उभिएको एउटा विशाल ‘वरको रुख’ हो।

हामीले भुल्नु हुँदैन— यो त्यही रुख हो जसको फेदमा बसेर हाम्रा बाजे-बराजुले स्वतन्त्रताको सपना देखे, जसको छहारीमा हाम्रा बाबु-आमाले जेल-नेल र प्रवासको पीडा सहँदा पनि ‘जय नेपाल’ भन्न छाडेनन्। आज त्यही रुखमा नयाँ पालुवा पलाउन खोज्दैछन् भने पुराना पातहरूले तिनलाई आशीर्वाद दिँदै ओत लाग्नुपर्छ। पुरानाको अनुभवको ‘जरा’ र नयाँको ऊर्जाको ‘पालुवा’ बीचको प्रेमिल संवादले नै कांग्रेसलाई पुनर्जीवन दिने हो। ‘रुख’ बलियो हुनलाई जरा र हाँगाबिँगा दुवैको उत्तिकै भूमिका हुन्छ।

३. महाधिवेशन: इख साध्ने ठाउँ कि आँसु पुछ्ने आँगन?

पार्टी अब महाधिवेशनको संघारमा छ। यो महाधिवेशन कसैलाई निषेध गर्ने वा पराजयको ‘दोषी’ खोजेर सार्वजनिक अपमान गर्ने थलो बन्नु हुँदैन। हारको भारी कसको टाउकोमा बिसाउने भनेर झगडा गर्दा त्यो घर झन् कमजोर हुन्छ। एउटा परिवारमा जब संकट आउँछ, तब सदस्यहरू आपसमा लड्दैनन्, बरु अँध्यारो चिर्न सँगै बसेर सल्लाह गर्छन्।

महाधिवेशनलाई शक्ति प्रदर्शनको केन्द्र होइन, बरु ती गाउँका सोझा कार्यकर्ताको ‘आँसु पुछ्ने मुहान’ बनाउनुपर्छ, जसले पार्टी हार्दा आफ्नो घरमै चुल्हो नबले जस्तो महसुस गरेका थिए। यो महाधिवेशनले एउटा यस्तो मार्गचित्र कोर्नुपर्छ, जसले कार्यकर्तामा ‘मेरो पार्टी’ भन्ने गर्व र जनतामा ‘हाम्रो सहारा’ भन्ने विश्वास जगाओस्।

४. पुनरागमनको संकल्प: बिरामी होइन, सजग मोड

राजनीतिमा हार-जित एउटा चक्र हो। कहिलेकाहीँ संगठन शिथिल हुन्छ, सबै सकियो कि जस्तो भान हुन्छ। तर यदि संगठनको मुख्य ‘भाइटल्स’ (निष्ठा र कार्यकर्ता) तन्दुरुस्त छन् भने पुनरागमन असम्भव छैन।

बिरामी परेको बेला परिवारको न्यानो साथ र सही ओखती भए जसरी मान्छे तङ्ग्रिन्छ, कांग्रेस पनि आफ्ना निष्ठावान् कार्यकर्ताको स्नेह र सही नीतिले तङ्ग्रिनुपर्छ। केही मत घट्दैमा आत्तिनु पर्दैन। प्रतिद्वन्द्वीले फरक हतियार चलाउँदैमा मैदान छाड्ने होइन, बरु आफ्ना दस्तालाई स्नेह र विश्वासका साथ ‘सजग मोड’मा राख्नुपर्छ। चोट लागेको बेला झन् बलियो भएर उभिने संकल्प नै कांग्रेसको खास चिनारी हुनुपर्छ।

५. डिजिटल युग र मानवीय स्पर्शको खाका

संगठनलाई ‘गुट’, ‘कुण्ठा’ र ‘अहंकार’ पाल्ने थलो बनाइनु हुँदैन। अबको मतदाताले केवल इतिहासको भाषण होइन, वर्तमानको अनुभूति खोज्छन्। कांग्रेसले अब मान्छेको भान्सा र जीवनसँग जोडिने ‘आर्थिक मार्गचित्र’ प्रस्तुत गर्न सक्नुपर्छ।

पार्टीका विभागहरूलाई फेसबुकमा फोटो हाल्ने ‘आभासी’ दुनियाँबाट बाहिर निकालेर जनताको आँसु र पसिना पुछ्ने गरी सक्रिय बनाउनुपर्छ। विभागको पत्र बुझेर सामाजिक सञ्जालमा पोस्ट्याउने र गायब हुने होइन, टोल-टोलमा पुगेर जनताको मनको घाउमा मलम लगाउने ‘मान्छे’को खाँचो छ। प्रविधिको गति लिऔँ, तर मानवीय संवेदनाको गहिराइ नछोडौँ।

६. निष्कर्ष: जनताको भरोसा बनेर रसाउने बेला

महाधिवेशनको भव्यताले मात्र जनमतको ग्यारेन्टी गर्दैन। लोककेन्द्रित राजनीतिको यात्रामा अब कांग्रेसलाई ‘आधुनिक प्रविधि’को गति र ‘मानवीय संवेदना’को गहिराइ चाहिएको छ। सुदृढ लोकतन्त्रमा कांग्रेसले सधैँ जनताको अभिभावकको भूमिका निर्वाह गर्नुपर्छ।

सोचेजस्तो परिणाम आएन भन्दैमा निराश हुने छुट कांग्रेसलाई छैन। अब कांग्रेस रसाउनु पर्छ— अर्थात् जनताको दुःखमा भिज्नु पर्छ, उनीहरूसँगै रत्तिनु पर्छ। जसरी सुकेको धर्तीमा पानी परेपछि नयाँ उमङ्ग आउँछ, त्यसरी नै कांग्रेस अब जनताको आशाको सिँचाइ बनेर रसाउनुपर्छ। जहाँ अन्याय र गल्ती भेटिन्छ, त्यहाँ कांग्रेस केवल एउटा नाम होइन, जनताको ‘ढाल’ बनेर उभिनुपर्छ।

विश्व