काठमाडौँ — पूँजी बजार (नेप्से) ३ हजारको मनोवैज्ञानिक विन्दु नजिक पुग्दै गर्दा बजारमा एउटा नयाँ र सुनियोजित ‘प्रोपागान्डा’ सुरु भएको छ। आगामी चैत १३ गते बालेन शाहले प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने दिनलाई बजारको ‘विनाश’ वा ‘ठुलो पहिरो’को रूपमा व्याख्या गर्दै केही कथित ठुला लगानीकर्ताहरूले सर्वसाधारणबाट सस्तोमा सेयर हत्याउने रणनीति बुनेको पाइएको छ।
ब्रोकर कार्यालयहरू र सामाजिक सञ्जालका विभिन्न ग्रुपहरूमा अहिले एउटै हल्ला व्याप्त छ— “बालेन आएको दिन बजारमा ठुलो सप्लाई आउँछ, त्यसैले अहिल्यै नाफा सुरक्षित (Profit Booking) गरेर बाहिरिनुस्।” तर, बजारका भित्री जानकारहरूका अनुसार यो हल्ला कुनै तथ्यमा आधारित नभई साना लगानीकर्ताको सेयर सस्तोमा ‘कर्नरिङ’ गर्ने एउटा सुविचारित चाल मात्र हो।
ब्रोकर हाउसमा ‘गफ बुक’ को खेती
पछिल्लो समय केही सीमित ठुला लगानीकर्ताहरूले विभिन्न सेयर दलाल (ब्रोकर) कम्पनीहरूमा आफ्ना मान्छे परिचालन गरी नकारात्मक माहोल बनाउन लगाएको चर्चा छ। “बजार निक्कै माथि गइसक्यो, अब त घट्छ नै” वा “नयाँ सरकार आएपछि नीति नियम कडा हुन्छ” जस्ता तर्क दिएर बजारमा कृत्रिम त्रास फैलाइएको छ। यसलाई लगानीकर्ताहरूले ‘ग्याप बुक’ गर्ने नाममा सर्वसाधारणलाई मानसिक रूपमा थकाउने खेलको रूपमा लिएका छन्।
किन गरिँदैछ यस्तो खेल?
बजार अहिले २९३६.५६ को बलियो विन्दुमा छ र दैनिक कारोबार रकम १५ अर्ब ७८ करोड नाघेको छ। यति ठुलो भोल्युम (Volume) ले बजारमा माग (Demand) निक्कै उच्च रहेको पुष्टि गर्छ। तर, थप सेयर खरिद गर्न चाहने ठुला खेलाडीहरूलाई अहिलेको मूल्य महँगो महसुस भइरहेको छ। त्यसैले, बजारमा डर पैदा गरेर मूल्य घटाउने र साना लगानीकर्ताले अत्तालिएर फालेको सेयर सस्तोमा उठाउने (Accumulation) उनीहरूको मुख्य दाउ देखिन्छ।
तथ्याङ्क भन्छ– ‘बजार बुलिस छ’
भेट्रान लगानीकर्ताका अनुसार अहिलेको र्याली कुनै एउटा समाचारमा मात्र टिकेको छैन। “आजको सामान्य ५ अङ्कको वृद्धि र १५ अर्ब माथिको कारोबारले बजारमा नयाँ र शक्तिशाली आर्थिक सुधारको संकेत गरेको छ,चैत १३ लाई अन्त्य होइन, एउटा दीर्घकालीन बुलको सुरुवातको रूपमा हेर्नुपर्छ र अब ३२०० को लक्ष्य असम्भव छैन।”
प्राविधिक चार्टमा पनि बजारले ‘हायर हाई’ र ‘हायर लो’ को शृङ्खला बनाइरहेको छ, जसले बजार स्पष्ट रूपमा सकारात्मक दिशामा रहेको देखाउँछ। १५४ कम्पनीको मूल्य ओरालो लाग्दा पनि नेप्से इन्डेक्स हरियो रहनुले ‘ब्लु–चिप’ र ठुलो पुँजी भएका कम्पनीहरूमा संस्थागत लगानीकर्ताको आकर्षण बढेको संकेत गर्छ।
लगानीकर्तालाई सुझाव
बजारका विश्लेषकहरू भन्छन्, “बजारमा सधैँ दुई पक्ष हुन्छन्— एउटा जसले हल्ला फैलाउँछ र अर्को जसले तथ्य हेर्छ। अहिलेको १५ अर्ब माथिको दैनिक कारोबारले कुनै पनि ठुलो सप्लाईलाई सहजै पचाउन सक्ने क्षमता राख्छ।” तसर्थ, ब्रोकर अफिसका कुनाकाप्चामा हुने प्रायोजित हल्ला र ‘गफ बुक’ को पछि लाग्नुभन्दा बजारको उच्च टर्न ओभर र राजनीतिक स्थिरतालाई हेरेर विवेकपूर्ण निर्णय लिनु नै बुद्धिमानी हुने देखिन्छ।