काठमाडौं । नयाँ सरकार गठनसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब २०० अंकले घटेपछि बजारमा अन्योलता र त्रास बढेको भए पनि विभिन्न क्षेत्रका जानकारहरूले भने दीर्घकालीन सुधारको बलियो अपेक्षा व्यक्त गरेका छन्। सामाजिक सञ्जालदेखि सञ्चार माध्यमसम्म व्यक्त भइरहेका धारणा अनुसार हालको गिरावटलाई अस्थायी मान्दै बजारले पुनः उकालो समाउने विश्वास गरिएको हो।
बजार विश्लेषक तथा अर्थविद्हरूका अनुसार सरकार परिवर्तनसँगै देखिने प्रारम्भिक अस्थिरता स्वाभाविक प्रक्रिया हो। उनीहरू भन्छन्, यदि नयाँ सरकारले स्पष्ट, पारदर्शी र लगानीमैत्री आर्थिक नीति अघि सारेमा पूँजी बजारले सकारात्मक दिशा समात्न समय लाग्दैन। “नीतिगत स्पष्टता आएपछि बजार पुनः बलियो भएर फर्किन्छ,” उनीहरूको साझा बुझाइ छ।
अनुभवी लगानीकर्ताहरूले अहिलेको अवस्थालाई ‘बाइङ अपर्चुनिटी’ का रूपमा लिन थालेका छन्। बजार घट्दा गुणस्तरीय कम्पनीका शेयरहरू सस्तो मूल्यमा उपलब्ध हुने भएकाले दीर्घकालीन लगानीकर्ताका लागि यो अवसरको समय भएको उनीहरूको तर्क छ। छोटो अवधिको उतारचढावलाई बेवास्ता गर्दै आधारभूत रूपमा बलिया कम्पनीमा लगानी गर्न उनीहरूले सुझाव दिएका छन्।
नेपाल इन्भेष्टर फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनीयारले सरकारका पछिल्ला कदमलाई सकारात्मक रूपमा लिँदै बजारमा परेको प्रभावलाई अस्थायी बताएका छन्। “नयाँ सरकारले फोहोर सफा गर्दा उडेको धुलो बजारमा परेको हो, आत्तिनु पर्दैन, बजार पुनः सुधार हुन्छ,” उनले बताएका छन्।
यस्तै, सामाजिक सञ्जालमा सक्रिय युवा लगानीकर्ताहरूले बजार घट्दा डराउनुभन्दा रणनीति परिवर्तन गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। उनीहरूका अनुसार यस्तै अवस्थामा ‘स्मार्ट मनी’ बजारमा प्रवेश गर्ने गर्दछ, जसले आगामी सुधारको संकेत दिन्छ।
प्राविधिक विश्लेषकहरूले समेत हालको गिरावटलाई ‘हेल्दी करेक्सन’ का रूपमा व्याख्या गरेका छन्। उनीहरूको भनाइमा बजार निरन्तर बढिरहँदा बीच–बीचमा हुने यस्ता करेक्सनले दीर्घकालीन रूपमा बजारलाई अझ सन्तुलित र मजबुत बनाउँछ। त्यसैले अहिलेको गिरावटपछि पुनः उकालो लाग्ने सम्भावना बलियो रहेको उनीहरूको विश्लेषण छ।
नयाँ सरकारप्रति पनि केही आशावादी संकेत देखिएका छन्। राजनीतिक स्थिरता, पारदर्शिता र सुशासनमा आधारित नीतिगत सुधार हुन सकेमा पूँजी बजारमा विश्वास बढ्ने र लगानीकर्ता पुनः सक्रिय हुने अपेक्षा गरिएको छ।
अनुभवी लगानीकर्ता सुभाष चन्द्र भट्टराईले समेत सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै बजार गिरावटलाई आत्ममूल्यांकनको अवसरका रूपमा लिनुपर्ने बताएका छन्। “यदि सुशासनका कारण बजार घट्छ भने हामीले दीर्घकालीन सोच विकास गर्नुपर्ने हुन्छ,” उनले उल्लेख गरेका छन्।
विशेषगरी, सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो बाचा पत्रमा पूँजी बजार सुधारका लागि व्यापक योजना अघि सारेको थियो। नियामक सुधार, धितोपत्र ऐन संशोधन, नेप्से पुनर्संरचना, डेरिभेटिभ बजारको विकास, संस्थागत लगानीकर्ताको विस्तार, एनआरएनलाई बजारमा प्रवेश सहज बनाउने लगायतका कार्यक्रमहरूले लगानीकर्तामा ठूलो अपेक्षा जगाएको थियो।
तर, यिनै अपेक्षाबीच हालको बजार गिरावटले लगानीकर्तामा निराशा पनि बढाएको छ। करिब ७० लाखभन्दा बढी लगानीकर्ता आबद्ध रहेको यस क्षेत्रमा दैनिक गिरावटले ठूलो आर्थिक प्रभाव पारेको छ। लगानीकर्ताहरूले सरकारसँग तत्काल स्पष्ट नीति, तरलता व्यवस्थापन र बजारमैत्री निर्णयको माग गरेका छन्।